काठमाडौं, १० वैशाख । रात रहे अग्राघ पलाउँछ ! समाजवादी पार्टीमा अहिले त्यस्तै भएको छ । पार्टीको एउटा समूह नयाँ दल दर्ता गर्ने प्रक्रियामा छ ।
रिपोर्टर्स नेपालले समाजवादी पार्टीकी नेता रेणु यादवको नेतृत्वमा आठ जना सांसदहरुले पार्टी फुटाउन लागेको खुलासा गरेको थियो । हस्ताक्षर समेत संकलन गरिसकेको उक्त दल फुटाउने खेल अहिले नयाँ बिन्दुमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि योजनावद्ध तरिकाले समाजवादी पार्टी फुटाउन लागिपरेको आरोप लागेको छ । समाजवादी पार्टीका नेताहरुले त्यस्तो आरोप सार्वजनिक रुपमै लगाएका छन् । यही उद्देश्यले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको विश्लेषण भइरहेको छ ।
अहिले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरणको शैलीमा काठमाडौं ल्याइएको विषय बाहिर आएको छ । रिपोर्टर्स नेपालले यसको खुलासा साँझ गरेको हो । यो सबै समाजवादी पार्टी फुटाउन गरिएको अभ्यास भएको बुझिएको छ । १६ सांसद संख्या रहेको समाजवादी पार्टीमा ४० प्रतिशत पुगेमा भोलि नै निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया बढ्नेछ । तर, अपुग भएमा समाजवादी पार्टी फुटबाट जोगिनेमात्र छैन राजपासँग एकता पनि गर्ने तयारी भइरहेको छ ।
अहिले समाजवादी पार्टी र राजपाबीचको एकता प्रक्रिया द्रुत गतिमा बढेको छ । यो सँगै समाजवादी पार्टी फुटबाट जोगिने प्रयासमा छ । दुई पार्टी एक भएमा फुटबाट जोगिने आँकलन सहित शिर्ष नेताहरु लेनदेनमा केही त्याग गरेर भएपनि मिलाउन खोजिरहेका छन् । रातभर यो प्रयास रहने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
समाजवादी पार्टी फुटेन र राजपासँग एकता भएमा त्यो प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अर्को चुनौती बन्नसक्छ । उनले बनाएको अध्यादेश उपेन्द्र यादवले भनेजस्तै उनकै दल नेकपाका लागि घातक बन्न सक्छ । ओलीले अध्यादेशको अस्त्र त फालेका छन् तर त्यसले उनको सत्तालाई नै जोखिममा पारेको छ ।-File Photo