काठमाडौं, १० बैशाख । उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच आजै एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार अहिले केही बेरमै एकता घोषणा हुन लागेको छ । यसको लागि सबै तयारी पूरा भएको छ । पार्टी एकताको लागि आज साँझदेखि नै राजपा र समाजवादीका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । एकताको लागि लगभग सबै कुरा मिलेको यादवको भनाई छ ।
सरकारले दुई दिनअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि अहिले राजनीति तातिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो अध्यादेश मन्त्रिपरिषदको बैठकमा पेश गरेका थिए । सुरुमा, यो अध्यादेश नेकपालाई नै विभाजन गर्न सजिलो हुनेगरि ल्याईएको भनेर पनि चर्चा चलेको थियो । तर, प्रधानमन्त्री ओलीले आफ्ना पार्टी फुटाउनको लागि अध्यादेश नल्याईएको स्पष्ट पार्दै आएका छन् । नयाँ अध्यादेशअनुसार दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत पुर्याए पुग्ने भएको छ। यसअघि दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।
आजमात्रै पनि प्रधानमन्त्री ओलीले नेकपाका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा यो कुरा स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने,“अध्यादेश ल्याउनु सरकारकोे नियमित र सामान्य काम भएको हुँदा यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।” प्रधानमन्त्री ओलीले सांसदसँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभई सबै दलका लागि ल्याइएको जनाउँदै यसमा कुनै किसिमको भ्रममा नपर्न स्पष्ट पारेको थापाले जानकारी दिए ।