Logo

पार्टी फुटाएर आउनेलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाउने, प्रचण्डले छोडेपनि फरक नपर्ने !



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर आउनेलाई मन्त्री बनाउनेगरि तयारी थालेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाली राजनीति तातिरहेको छ । प्रधानमन्त्री ओलीले अहिलेको परिवेशमा पार्टी फुटाउँछु भन्नेलाई बाँधेर राख्न नहुने तर्क गर्दै आफूले ल्याएको अध्यादेशको कडा बचाउ गरेका छन् । त्यतिमात्रै नभएर उनले पार्टी फुटाएर आउनेलाई मन्त्री नै बनाउनेपनि तयारी गरेको स्रोतको दाबी छ ।

दल विभाजनसम्बन्धीको नयाँ अध्यादेश जारी भएसँगै यसको सबैभन्दा ठूलो असर उपेन्द्र यादव र बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीलाई परेको छ । अध्यादेश जारी भएसँगै यादव र भट्टराई कसैगरि पनि पार्टी फुटाउन नदिनेगरि गृहकार्यमा जुटेका छन् । दुवै नेताले ओलीको कदमलाई अलोकतान्त्रिक भनेका छन् । नेता भट्टराईले त ओलीलाई लोकतन्त्रको हत्याराको संज्ञा दिएका छन् ।

समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुले पार्टी फुटाउनेगरि तयारी थालेको हल्ला चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राख्नेगरि अध्यादेश ल्याउनु संयोगमात्रै नभएको विज्ञहरुको भनाई छ । समाजवादी पार्टीका शीर्ष नेताहरु यतिवेला कुनैपनि हालतमा पार्टीलाई फुटबाट जोगाउनेगरि गृहकार्य थालेका छन् । समाजवादी र राजपाबीच एकता गर्नेगरि उनीहरुले तयारी थालेका छन्। अहिले राजपाको मुख्यालय रहेको बबरमहलमा दुई पार्टीबीच एकता आजै घोषणा गर्नेगरि तयारी भैरहेको छ ।

यता, प्रधामन्त्री ओलीले भने जो जो पार्टी फुटाएर आउँछन् ती सबैलाई मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली त अझै पनि समाजवादी र राजपा फुट्छ भन्नेमा विश्वस्त छन् । ओलीले दल विभाजनसम्बन्धी अध्यादेशसँगै संवैधानिक परिषदको कामकारबाहीसम्बन्धीपनि अर्को अध्यादेश ल्याएका छन् । विपक्षी दलको नेता रहने प्रावधान हटाएका छन् । योसँगै प्रधानमन्त्री ओलीले अब धमाधम संवैधानिक आयोगमा नियुक्तीहरु गर्दै जाने भएका छन् । स्रोतकाअनुसार एक हप्ताभित्र सबै संवैधानिक आयोगमा नियुक्ती गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

अध्यादेश जारी गरेरसँगै प्रधानमन्त्री ओलीले आफूलाई पार्टीमा शक्तिशाली बनाएका छन् । उनले पार्टी र सरकार दुवै मोर्चामा आफूलाई सबै नेताले साथ दिने विश्वास लिएका छन् । यदि सहयोग नगरे पार्टी छोडेर जानपनि सक्ने उनको चेतावनी छ । प्रधानमन्त्रीले आजभोलि भन्ने गरेका छन्,”जसले मलाई सहयोग गर्छ । ठीकै छ । सहयोग नगरे पनि केही फरक पर्दैन् ।” कतिसम्म भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाएर गएपनि आफूलाई केही फरक नपर्ने प्रधानमन्त्री ओलीको निश्कर्ष छ।



प्रतिक्रिया दिनुहोस्