काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी फुटाउन अघिल्लो दिन नै आठ जना संख्या पुर्याइएको थियो । उनीहरुको हस्ताक्षर संकलन भइसकेको थियो । तर, अन्तिम समयमा दुईजनाले पार्टी फुटाउन लागेकालाई धोका दिए । निर्वाचन आयोगमा हस्ताक्षरको सनाखत गर्न उपस्थित जनाउनुपर्ने हुन्थ्यो ।
समाजवादी पार्टीको १६ सांसदमध्ये आवश्यक ४० प्रतिशत पुर्याउन ७ जना आवश्यक पर्दथ्यो । एकजना पुर्याउन कठिन परेपछि बालुवाटार निकट दुईजना सक्रियतापूर्वक लागे । उनीहरुले डा. सुरेन्द्र यादवसँगको पुरानो सम्बन्धका आधारमा सक्रियता देखाएर धनुषाबाटै झिकाए ।
यादव धनुषाबाट काठमाडौं ल्याइए । उनलाई मन्त्री बनाउने आश्वासन दिइयो । बल्ल ७ जना पुग्ने निश्चित भयो । ७ जना संख्या पुगेपछि उनीहरु नयाँ पार्टी खोल्ने निर्णयमा पुगे । यता समाजवादी पार्टी फुटबाट जोगिन राजपासँग एकता गर्ने निर्णयमा पुगिसकेको थियो । तर, यसको छिनोफानो आज निर्वाचन आयोगमा हुनेछ । पहिला दल फुटाउन पुग्छ कि एकीकरण गर्ने पक्ष पुग्छ ? यो हेर्न बाँकी छ ।
आज रेणु यादवको नेतृत्वमा समाजवादी पार्टीबाट नयाँ दल दर्ता गर्न पुग्नेमा मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मा, डा. सुरेन्द्र यादव र रेणुका गुरुङ हुने बुझिएको छ । यसमध्ये कम्तिमा चार जनालाई मन्त्री र राज्यमन्त्री बनाइने गरी आश्वासन दिइएको छ । समाजवादी फुटाउन साम, दाम, दण्ड भेदको रणनीति अपनाइएको छर्लङ्ग भइसकेको छ ।-File Photo