Logo

इस्तियाक र सुरेन्द्रबीच को स्वास्थ्यमन्त्री बन्ने कुरा नमिल्दा तुहिएको समाजवादी फोर्ने योजना



काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी फुटाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथामका लागि लकडाउन चलिरहँदाको बीच अध्यादेश ल्याएका थिए । उनले अध्यादेशमार्फत् एक तिरले तीन शिकार गर्दै सत्ता बलियो बनाउन खोजे ।

अध्यादेश ल्याएपछि समाजवादी फुटाउन कम्तिमा ७ जना सांसद सदस्य संख्या भए पुग्थ्यो । त्यसका लागि मोहम्मद इस्तियाक राइ र उमाशंकर अडगरिया केही दिनयता सक्रिय भइसकेका थिए । विश्वस्त स्रोतका अनुसार उनीहरुले नै सबै चाँजोपाँजो मिलाइरहेका थिए । रेणु यादव नेतृत्वकर्ता नै थिइन् । उनलाई उपसभामुख दिने गरी मिलाइएको थियो । सभामुख नेकपाको भइसकेकाले संविधान अनुसार उपसभामुख अर्को दलको हुनुपथ्र्यो । रेणु अर्को दलको हुने भएकाले उनलाई उपसभामुख दिने गरी टुंगो लगाइसकिएको थियो ।

फुटाएपछि बाँकी ६ जनाको आ आफ्नै दाबी थिए । फुटेपछि कम्तिमा दुईमन्त्रीको दाबी थियो । तर, एक मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाइएको थियो । मोहम्मद इस्तियाक राई यसअघि पनि शहरी विकासमन्त्री भइसकेका थिए । उनी फेरि मन्त्री बन्नेमा केन्द्रित थिए ।
सांसद डा. सुरेन्द्र यादव स्वास्थ्यमन्त्री बनाइने आश्वासनपछि पार्टी विभाजनको लागि तयार भएको समूहमा आवद्ध भएका थिए । महोत्तरीस्थित उनकै घरमा पुगेर कुरा भए अनुसार स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएपछि सहमत भएका थिए । विगतमा स्वास्थ्य राज्यमन्त्री भएका डा. यादवलाई फुल मन्त्री बनाउने भनिएपछि उनी खुशी भएर काठमाडौं आएर नक्शालस्थित होटल मेरियटमा बसे । त्यहाँ फुट्ने तयारी गरेका अन्य सांसदहरु पनि थिए । ७०१ देखि ७०५ कोठा नम्बर बुकिङ गरेर राखिएको थियो । रातभर उपसभामुख, एकमन्त्री र एक राज्यमन्त्री बाँडफाँड गर्ने र भोलिपल्ट विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नयाँ पार्टी दर्ता गर्ने योजना बुनिएको थियो । तर, रातभर मन्त्री कस्ले खाने भन्ने विवाद मिलेन ।

स्वास्थ्यमन्त्री बन्न मोहम्मद इस्तियाक राइ र सुरेन्द्र यादव दुवैबीच प्रतिष्पर्धा थियो । यादवले मन्त्री नपाउने अवस्था देखे । त्यसपछि उनी भड्किए । मध्यरातमा समाजवादी र राजपा एकीकरण भइसकेको थियो । अवस्था निकै परिवर्तन भइसकेपछि यादवले होटलमै समाजवादी पार्टीका नेताहरुलाई डाके । उनी त्यहाँबाट आफ्नो बाटो लागे । यसरी समाजवादी पार्टी फुटको खेल तुहियो ।

पार्टी फुटबाट जोगिएपछि फुटको अन्तिम तयारीमा लागेकाहरुले अहिले आएर विज्ञप्ति निकाल्दै आफू यसमा संलग्न नभएको भन्न थालेका छन् । उनीहरुले अहिले आएर पार्टी एकताको स्वागत गर्दै दरिलो ढंगले अगाडि बढ्ने बताएका छन् ।

जे होस् यो घटनाले डा. बाबुराम भट्टराईलाई बलियो बनाएको छ । नयाँ शक्तिमा हुँदा एकमात्र आफ्नै सिट भएका उनी अहिले ३५ सिटको दलको नेता बनेका छन् । समाजवादी फुटबाट जोगाउन र राजपासँग एकता गराउन उनकै निर्णायक भूमिका थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot