Logo

पेट्रोलियम आयात सुचारू



काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ ।

कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो । कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हँुदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उनीहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ”

मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । आयात नभए पनि सो क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भने छैन । नेपालगञ्ज र धनगढी नाकाबाट सामान्य दिनमा दैनिक छ सय किलोलिटरसम्म डिजेल र १५ सय किलोलिटरसम्म पेट्रोल आयात हुँदै आएको थियो । लकडाउनको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरण घटेको छ । हाल दैनिक तीन सय केएल पेट्रोल र हजार केएल डिजेल बिक्री हुँदै आएको छ । सामान्य अवस्थामा दैनिक तीन हजार केएल पेट्रोल र सात हजार केएल डिजेल खपत हुँदै आएको थियो । अमेरिकी कच्चा तेलको गिरावटले असर गर्दैन, अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने निगमले जनाएको छ । लकडाउन मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ ।

निगमका अनुसार नेपालमा खाडी देशबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले गल्फबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । उपाध्यायले भन्नुभयो, “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन, त्यहाँको तेलको क्वालिटी पनि फरक हो, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावका बारेमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्