काठमाडौँ, १२ वैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ ।
वार्षिक शैक्षिक क्यालेण्डर नै लागू नहुने यो स्थितिमा नेपाल शिक्षक महासङ्घको पहलमा कक्षा १० (एसइई) का विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले विद्यार्थी हेल्प डेस्कको स्थापना गरिएको छ । सातवटै प्रदेशमा मुख्य पाँच विषयका शिक्षक समावेश गरी गत चैत १३ गतेदेखि यो डेस्कबाट अनलाइन सहयोग भइरहेको छ । डेस्कले जिल्लामा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी अनलाइन तालिम शुरु गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षकका लागि समयसापेक्ष तालिमद्वारा प्रशिक्षित गर्न दैनिक पठनपाठन क्रियाकलापमा आवश्यक आधारभूत तालिमको सञ्चालन गरिरहेको छ । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलका अनुसार गत चैत २२ गतेको जिल्ला समितिको अनलाइन बैठकको निर्णयअनुसार दैनिक बिहान ११ बजे अनलाइन तालिम सञ्चालन गरिएको हो । “फेसबुक मेसेन्जरमा पर्याप्त सहभागी हुन नसक्ने अवस्थालाई हेर्दै जुम एपबाट तालिम शुरु गरेका हौँ”, तालिमको नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरेका छन् ।
यस अवधिमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, अध्यक्ष थापा, शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया, डा. शेषकान्त पङ्गेनी, लक्ष्मण शर्मालगायतका विज्ञबाट तालिमको सहजीकरण गरिएको छ । तालिमप्रतिको आकर्षण बढिरहेको जनाउँदै सङ्गठनका जिल्ला सचिव तीर्थराज ढकालले तालिम अवधिकै बीचमा गत चैत २९ गते सङ्गठनको ४१औँ स्थापना दिवस रर यही वैशाख १ गते नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसमेत अनलाइन प्रविधिकै उपयोगबाट गरिएको छ । (रासस)