Logo

पूर्वाधार निर्माणमा गति दिने तयारी



काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अवरुद्ध बनेको पूर्वाधार निर्माणलाई गण्डकी प्रदेशमा गति दिन सुरु गरिएको छ ।

यो प्रदेशभित्र पर्ने ठूला योजनाहरूलाई निर्माणमा सहभागी कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै काम सुरु गर्न लागिएको हो । सरकारले राष्ट्रिय गौरवका योजनासहित ठूला योजना निर्माणमा सहज बनाउने निर्णयसँगै गण्डकी प्रदेशका योजनालाई पनि सोहीअनुसार अगाडि बढाउने तयारी भइरहेको छ । गण्डकी प्रदेशभित्र घेराबारभित्रै निर्माण गर्न सकिने योजनाहरू लकडाउनको बेला पनि निरन्तर चले पनि खुला रूपमा गर्नुपर्ने योजनाहरू भने प्रभावित बनेका थिए ।

पोखरा विमानस्थलको निर्माण जारी
पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लकडाउनका बेलासमेत निरन्तर चलिरहेको छ ।
चिनियाँ र नेपाली कामदारले काम गरिरहेको विमानस्थलमा कार्यरत केही चिनियाँ कामदारहरू कोरोना भाइरस सङ्क्रमणकै कारण केही समय रोकिए पनि अहिले सुरक्षित रूपमा विमानस्थल निर्माणको कामले गति लिइरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिएका छन् ।

चिनियाँ सीएमसी निर्माण कम्पनीले जिम्मा पाएको आयोजना निर्माणका लागि आवश्यक सामग्री चीन तथा भारतको कलकत्ता बन्दरगाहामा रोकिए पनि विमानस्थलमा स्टक रहेको सामान तथा अन्य कामका लागि १७० चिनियाँ र १०० जना नेपाली कामदारहरू निरन्तर काममा खटिइरहेको मुनकर्मीले जानकारी दिएका छन् । अहिलेसम्म ५६ प्रतिशत काम सकिएको विमानस्थल तोकिएको समयभन्दा अगावै सकिने आयोजनाले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्