काठमाडौं, बैशाख १२ । मुलुकभर जारी बन्दाबन्दीको अवधिमा विकास आयोजनाका कामलाई सञ्चालनका लागि खुकुलो वातावरण बनाए पनि विकास निर्माणको कामले भने अझै पनि तीव्रता लिएको छैन ।
यसको असर काठमाडौं उपत्यकाभित्रका विस्तार हुँदै गरेको विभिन्न सडक योजनामा परिरहेको छ । विकास निर्माणका लागि लकडाउन खुकुलो पारिए पनि यस बेला मजदुर, निर्माण सामग्रीलगायतको अभावका कारण काम गर्न नपाएको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।
काठमाडौं उपत्यकाको ११ वटा सडक योजनाको काम प्रभावित बनेको योजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘लकडाउनले गर्दा योजनाको अधिकांश काममा असर सडक गरिरहेको छ । मजदुर घर गइसकेका छन् । निर्माण सामग्री छैन । यस्तै अवस्थाले गर्दा केही सडकबाहेक अन्यको काम प्रभावित बनेको छ ।’ उनले बताए ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले, कर्मनासा–हरिसिद्धि–गोदावरी, नख्खुखोला–भैंसेपाटी–बुङमतीलगायत ११ सडकमा विस्तार भइरहेको थियो । लकडाउनले गर्दा निर्माण सामग्री बाँकी रहेको र मजदुर रहेको सडकको काम सरकारको निर्देशनपछि शुरू भएको योजनाले जनाएको छ ।