Logo

ओलीले हानेको ब्रम्हास्त्र उनैमाथि सोझ्याउँदै प्रचण्ड, माधव र वामदेवको आफ्नै दाउ



समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक द्धन्द्धले ल्याएको कम्पनको असर अन्य दलमा ठूलै झड्का लागेको छ । सत्ता सुरक्षित गर्न नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हानेको राजनीतिक ब्रम्हास्त्र अझै घुमिरहेको छ ।

राजनीतिक दल फुटाउन सजिलो बनाइएको त्यो अस्त्रले समाजवादी पार्टीमा ठूलै भूकम्प ल्यायो । पार्टी जोगाउन रातारात नाटकीय तरिकाले राजपासँग एकता गर्नुपर्यो । समाजवादी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासपात्रहरुलाई खटाएको छताछुल्ल भइसकेको छ । तर, समाजवादी फुट्न नदिन नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड स्वयं सक्रिय भएको भित्री पाटो हो । नेकपाका दुई अध्यक्ष समाजवादी पार्टी फुटाउन र जुटाउन लाग्नुमा सत्ता संघर्षकै उपज थियो ।

अध्यादेश फिर्ता लिन ओलीलाई वाध्य पार्न ११ वैशाखको राति नेकपा नेताहरुको बैठक बामदेव गौतमको निवास भैंसेपाटीमा बस्यो । स्थायी कमिटिको छ सदस्य अध्यादेश फिर्ता लिन वाध्य पार्ने पक्षमा उभिएका छन् । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल र रामबहादुर थापा बादल देखिएका छन् ।

ओलीले अध्यादेश फिर्ता लिन मानेका छैनन् । उनी अझै अध्यादेशको अस्त्र प्रयोग गर्ने जमर्को गरिरहेका छन् । समाजवादी र राजपा एक भएर बनेको जनता समाजवादी पार्टीमा अझै असन्तुष्टि छ । त्यसमा प्रहार गर्ने सम्भावनाको खेल अझै भइरहेको छ जुन फलामको च्युरो चपाउनु सरह भइसकेको छ । तर, ओली अझै राजनीतिक अस्त्रको प्रयोग गरेर पार्टीभित्र र बाहिर बलियो नै रहने प्रयासमा छन् ।

प्रचण्डले यही अध्यादेश फिर्ता लिन लगाएर ओलीमाथि नै अस्त्र फर्काउने रणनीति बनाएका छन् । यसका लागि उनले ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अपनाइरहेका छन् । आफ्ना विश्वासपात्रहरुमार्फत् प्रचण्डले ओलीविरुद्ध सार्वजनिक रुपमा बोल्न लगाइरहेका छन् । हरिबोल गजुरेलले पार्टी ओलीले फुटाइसकेको र उनका कारण लुकेर हिंड्नुपर्ने परिस्थिति आएको टिप्पणी गरेका छन् । मणि थापाले अध्यादेश फिर्ता नलिए पार्टी बचाउन नसकिने बताएका छन् । यसरी प्रचण्ड अध्यादेश फिर्ता लिन लगाएर ओलीलाई नैतिक संकटमा पार्ने तयारीमा छन् । साथै सचिवालयमा ओलीलाई अल्पमतमा पार्दै पकड बनाउने र हटाउने रणनीतिमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्ड पक्षलाई इंकित गर्दै अध्यादेश ल्याउनु अघि षड्यन्त्रहरु बुनिरहेको आरोप लगाएका छन् । त्यसलाई रोक्न नै अध्यादेश ल्याएको उनको संकेत छ ।

ओली र प्रचण्डबीच सत्ता संघर्ष चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपालको आफ्नै दाउ देखिन्छ । सचिवालयमा एक्ला भएपनि नेपालको स्थायी कमिटि र केन्द्रीय कमिटिमा ओली जत्तिकै पकड छ । पार्टीभित्र ओली सरकारको निर्णय हुँदा माधव नेपाल निर्णायक हुनसक्छन् । यस्तो अवस्थामा उनले सत्ताको बार्गेनिङ गर्न सक्छन् । त्यसैले ओली र प्रचण्डबीचको द्धन्द्धमा नेपाल निर्णायक शक्ति बन्न सक्छन् । यस्तो अवस्थामा उनले सत्तारोहणको सम्भावना देखेका छन् । उनको रणनीति त्यसै तर्फ लक्षित देखिन्छ ।

उपाध्यक्ष वामदेव गौतमको आफ्नै चाहना छ । उनी राष्ट्रियसभामा जान चाहन्छन् । संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्नु उनको मुख्य उद्देश्य हो । अहिलेको नेकपाको आन्तरिक द्धन्द्धमा उनले यही शर्तको उपयुक्त अवस्था देखेका छन् । गौतम कुनैबेला ओलीसँग नजिक रहेको इतिहास साक्षी छ । तत्कालिन नेकपा मालेको पाचौं महाधिवेशनमा ओली र गौतम एउटै पक्षका थिए ।

कालान्तरमा यी दुईको द्धन्द्धले नेकपा एमाले विभाजनसम्म पुगेको थियो । तर, यसअघिको महाधिवेशनमा गौतमको समर्थनले ओली अध्यक्ष बनेका थिए । त्यसैले पनि गोतम अवस्था र अवसर हेरेर समर्थन गर्न माहिर छन् ।

झलनाथ खनालको आफ्नै दाबी छ । उनी राष्ट्रपति बन्ने ढोका खोल्न चाहन्छन् । उनी पार्टी पद्धति र प्रणालीको वकालत गर्छन् । नेकपाभित्र निश्चल नेताको परिचय बनाउन सकेका उनीमाथि ओलीलाई ठाडै चुनौती दिएर बोल्ने सामथ्र्य राख्छन् । खनालको ओलीलाई यस्तो गन्जागोल राजनीतिमा समर्थन भइहाल्ने अवस्था देखिदैन । तैपनि, ओलीले उनलाई आश्वस्त पार्दै पूर्व एमालेको नाताले पक्षमा पार्न सक्छन् ।

महासचिव विष्णु पौडेल अहिले ओलीको कदमको विरोधी देखिएपनि उनी पनि अवसर हेरिरहेका छन् । ओलीसँगको लामो सम्बन्धका कारण पनि उनी प्रचण्ड या माधव नेपालको पक्षमा गइहाल्ने सम्भावना कम छ । तर, उनले ओली कमजोर हुँदा माधव नेपाललाई विकल्पका रुपमा साथ दिन सक्छन् ।

इश्वर पोखरेल ओलीपछिको त्यो गुटको उत्तराधिकारी बन्ने दाउमा छन् । उनले त्यही अनुसार ओलीको खटनपटन गर्दै आएका छन् । ओलीलाई अप्ठ्यारो परिस्थितिमा पोखरेलले साथ दिइरहेका छन् ।

रामबहादुर थापा बादल सरकारमा रहेकाले पनि ओलीको नजिक भएका छन् । तर, उनले पछिल्लो समय ओलीको निर्णयमा साथ दिन थाल्नुलाई अर्थपूर्ण मानिएको छ ।

नारायणकाजी श्रेष्ठको पनि आफ्नै दाउ छ । उनी प्रचण्डका नजिक हुन् तर आफ्नो राजनीतिक भविष्यलाई नजिकबाट हेरिरहेका छन् ।
यसरी नेकपाभित्र ओलीले फालेको अस्त्र घुमि रहेको छ । यसलाई हत्तपत्त ओली फिर्ता लिने पक्षमा देखिदैनन् । यो फिर्ता नलिंदा राजनीतिक क्षेत्रमा धेरै विनाशहरु निम्तने अवस्था छ । मणि थापाले राजनीतिक क्षेत्रमा धेरै ध्वंश हुने चेतावनी दिइसकेका छन् । अस्त्र फिर्ता लिएमा ओलीकै लागि घातक हुनसक्छ । उनको सत्ता नै ढल्ने अवस्था बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्