काठमाडौं, १२ बैशाख । मन्त्रिपरिषद बैठक बस्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले दिएको जानकारीअनुसार मन्त्रिपरिषद बैठक अहिले ११ बजेबाट सुरु हुन लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा यसअघि ल्याईएका दुई वटा अध्यादेश फिर्ता लिनेबारे सिफारिश गर्ने बुझिएको छ । दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि चौतर्फी आलोचना भएको थियो । आफ्नै पार्टीका शीर्ष नेताहरुले अध्यादेश तत्काल खारेज गर्नुपर्ने माग गरेपछि प्रधानमन्त्री ओली दबाबमा परेका हुन् ।
हिजो साँझ नेकपा सचिवालयका ९ जनामध्ये ६ जना (पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल) सदस्यहरुको आकस्मिक छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले कुनै विलम्ब नगरी अध्यादेश खारेज गर्नुपर्ने र पार्टीको स्थायी कमिटी बैठक बोलाउनुपर्ने निश्कर्ष निकालेको थियो । भैंसेपाटी भेलाले आजसम्म अध्यादेश फिर्ता नलिए भोलि सचिवालय बैठक राखेर कडा कदम चाल्ने चेतावनी दिएको थियो । FILE PHOTO