काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यादेश फिर्ता भएरमात्रै यो सँगै सबै राजनीतिक र नैतिक प्रश्न नसकिएको भन्दै गम्भिर प्रश्न उठाएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत झाँक्रीले यस्तो प्रश्न उठाएकी हुन् । उनले अध्यादेश फिर्ता लिनेबित्तिकै राजनीतिक र नैतिक प्रश्न नसकिएको भन्दै गम्भिर प्रश्न उठाएकी हुन् । उनले यस्तो लेखेकी छिन्,”अध्यादेश फिर्ता भयो रे! के योसंगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छ? मलाई लाग्छ सकिदैन। अब के हुन्छ?”
सरकारले आज यसअघि जारी गरिएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । यसअघि बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश जारी गरेकी थिइन्।
यता, राजनीतिक विश्लेषक, राजनतिज्ञ तथा नेपाल समय डटकमका एडिटोरियल डाईरेक्टर मुमाराम खनालले भने अध्यादेश फिर्तापछि पात्र होईन शास्त्र फेरौं भन्दै कडा टिप्पणी गरेका छन् । उनले ट्विटरमा लेखेका छन्,”अध्यादेश फिर्ता हुँदैमा यो अध्याय सकिन्न। यसले पृष्ठभूमिमा छोडेर गएको राजनीतिक पदचाप जहिलेसम्म पुनरावृत्ति हुन्छ- पात्र मात्र बदलिन्छ। उही प्रवृत्ति, नैतिकता र राजनीति बोकेको अर्को पात्रले गर्ने पनि अर्को नयाँ वितण्डा मात्र हो। अब राजनीतिको ‘पात्र’ होइन, ‘शास्त्र’ फेरौं।”