Logo

डा. सुरेन्द्र यादव ऋषि धमलासँग अन्तवार्ताका क्रममा रोएपछि…



काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अन्तवार्ताका क्रममा रोएका छन् । उनले आज ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा आफूलाई महोत्तरीबाट काठमाडौं ल्याइएको वृतान्त बताएपछि अन्तिमतिर रोएका थिए ।

‘म यहाँसम्म मर्नु र बाँच्नुको अवस्थामा आइपुगेको छु,’ गहभरी आँसु बनाउँदै डा. यादवले भने । ऋषि धमलाले तपाईं यहाँसम्म कसरी आउनुभएको छ भनी सोध्दा उनी केहीबेर चुप बसे । उनको बोली फुटेन अनि रुन थाले ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपहरणको शैलीमा ल्याउन ल्याएको भन्दै गल्ती स्वीकार्न भने । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको निर्देशनमा यो सबै भएको छ, म अरुलाई दोष दिन चाहन्नँ ।’ तपाईंलाई कस्ले काठमाडौं ल्याएको हो भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीको निर्देशन होइन भने ल्याउनेहरुलाई कारबाही हुनुपर्ने बताए ।

१० वैशाखमा डा. सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउने उद्देश्यले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले महोत्तरीस्थित घरबाट अपहरणको शैलीमा ल्याएको चर्चा छ । तर, तीनैजना व्यक्तिले डा. यादवलाई अपहरण नगरेको दाबी गर्दै आएका छन् ।

अन्तवार्तामा डा. यादवले आफूलाई मन्त्री पदको प्रस्ताव गरिएको स्वीकारेका छन् । तर, आफू आउन नमान्दा नमान्दै घरमै पुगेर ल्याइएको बताए । उनले घटनामा संलग्न सबैको नाम खोलेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot