Logo

सामग्री अभावले कालोपत्रेको काम ठप्प



काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकामा शुरु गरिएको सडकको स्तरोन्नति तथा कालोपत्रे (ओभर–ले) काम रोकिएको छ । बालुवा, गिट्टी लगायतको चालू अवस्थामा रहेको सडकको स्तरोन्नति तथा कालोपत्रेको काम रोकिएको छ ।

अहिलेसम्म बालुवा र गिट्टी आपूर्ति गर्दै आएका क्रसर उद्योगले स्थानीयवासीको अवरोधका कारण आपूर्ति बन्द गर्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ । निर्माण सामग्रीको अभावमा गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्डको निर्माण कार्यसमेत रोकिएको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले यसअघि काभे्र र दोलालघाटका क्रसर उद्योगले आपूर्ति गर्दै आएको निर्माण सामग्री अचानक रोकिएपछि उपत्यकामा सुरु गरिएको सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ठप्प भएको जानकारी दिएका छन् ।

उनले बालुवा, गिट्टी र चिप्स लिन गएका टिप्पर उतै रोकिएका छन्, अहिलेसम्म मौजात (स्टक) सामग्रीबाट काम भइरहेको थियो तर मौजात सामग्री सकिएको र उताबाट आपूर्ति हुन नसक्दा उपत्यकामा सडकको सम्पूर्ण काम रोकिनु परेको छ । उनका अनुसार १५ वटा टिप्पर काभ्रेका विभिन्न क्रसर उद्योगबाट निर्माण सामग्री लिएर काठमाडौँ फर्कने क्रममा स्थानीयवासीको अवरोधका कारण उतै रोकिएका छन् । निर्माण सामग्री बोकेका टिप्पर रोक्नुका कारण पत्ता लगाउनुका साथै अवरोध खुलाउनका लागि विभिन्न तहबाट प्रयास भइरहेको बताउँदै उनले निर्माण सामग्री ल्याउनका लागि अन्य ठाउँका क्रसर उद्योगीसँग छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले रोकिएका टिप्पर छुटाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट समेत पहल भइरहेको बताएका छन् । काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले स्टक सकिएपछि सडक विभागअन्तर्गत काठमाडौँमा भइरहेका सडकसम्बन्धी सम्पूर्ण काम रोकिएको बताएका छन् । गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण यसै महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो । डिभिजन प्रमुख नेपालीका अनुसार निर्माण सामग्री लिन साता नै काभ्रेको भुम्लु गाउँपालिका पुगेका १५ वटा टिप्पर र ट्रक सामान लिएर काठमाडौँ फर्किने क्रममा स्थानीयवासीको अवरोधका कारण उतै रोकिएका छन् ।

त्यसैगरी निर्माण सामग्री लिन काभ्रेको रोशी पुगेका टिप्पर सामान बोक्न नपाउँदै उतै रोकिएका छन् ।रोकिएका टिप्पर तथा ट्रक छोड्नका लागि जिल्ला प्रशासन कार्यालय काभ्रे र भुम्लु गाउँपालिकाले संस्थागत प्रयास गरे पनि स्थानीयवासीले अहिलेसम्म छोड्न नमानेको जानकारी डिभिजन प्रमुख नेपालीले दिइएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot