काठमाडौँ, १३ वैशाख । भनिन्छ एउटै तस्बिरले हजार शब्दको अर्थ दिन्छ । छापादेखि अनलाइनसम्म प्रयोग गरिने तस्बिरको परिचय ‘क्याप्सन’ बिना भने त्यो तस्बिर पूर्ण मानिँदैन । तस्बिरकै सञ्चारले अहिले संसार छपक्कै छ तर तस्बिरको विगत भने सहज तवरले सुरु भएको थिएन ।
नेपालमा त झनै धेरैपछि मात्रै तस्बिरले छापामा ठाउँ पाएको बिर्सन मिल्दैन । १९औँ शताब्दीको मध्यतिर पत्रपत्रिकामा फोटो छापेर सुरु भएको फोटो पत्रकारिताले २१औंँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा अकल्पनीय प्रभाव सिर्जना गरेको छ । वि.सं. २०३० मा गोरखापत्रमा फोटो पत्रकारिता सुरु गरेका वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको स्मरणमा पहिला र अहिलेको फोटो पत्रकारिताको तुलना गर्नै मिल्दैन, त्यसो गर्नु पहलमानसँग कमिलाको तुलना गरेजस्तै हुने बताएका छन् ।
‘‘त्यतिबेला एउटा फोटो खिचेर अखबारमा छाप्नलाई छ–सात घन्टा काम गर्नुपर्दथ्यो, अहिले छ–सात मिनेटमा छ–सात सयवटा रङ्गीन तस्बिरहरू विश्वभर फैलिन्छन्, क्षणभर पनि लाग्दैन । ’’फ्रान्सेली नागरिक निसेफोर निप्सेले सन् १८२६ प्रथम आधुनिक फोटो तयार पारेका थिए । निसेफोरले धानको कुन्यु राखिएको खलोको त्यो तस्बिर तयार पार्न सूर्यको आठ घन्टा लामो ‘एक्सपोज’ दिइएको थियो ।
फोटो खिच्न सफल भएको १३ वर्षपछि बेलायतका सर जोन हर्सलले सन् १८३९ मा सर्वप्रथम फोटोग्राफी शब्दको प्रयोग गरेका थिए । आमसञ्चारका माध्यमबाट तस्बिरको प्रयोग गरी सूचना प्रवाह गर्नु नै फोटो पत्रकारिता हो । फोटो पत्रकारिताले कुनै व्यक्ति, विषयवस्तु, विशेष घटना वा कथा वस्तुको सजीव चित्रण गर्दछ ।
नेपालमै पहिलो प्रयोग
वि.सं. १९८३ वैशाख १३ गतेको गोरखापत्रमा पहिलोपटक समाचारमूलक तस्बिर प्रकाशित भएको थियो । पृष्ठ ३ मा छापिएको सो तस्बिर चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगञ्ज निवासी १२ वर्षीया सूर्यमती श्रेष्ठको थियो । यो तस्बिर नै नेपालमा छापिएको पहिलो समाचारमूलक तस्बिर भएको भन्दै नेपाली फोटो पत्रकारहरूले वैशाख १३ गतेलाई फोटो दिवस मनाउँदै आएका छन् तर त्यसअघि पनि तस्बिर नछापिएको भने होइन ।
ग्रीष्मबहादुर देवकोटाको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक कृतिमा ‘नेपालमा छापिइ प्रकाशित भएका पत्रपत्रिकाहरूमा सबैभन्दा पहिले गोरखापत्रले १९८४ वैशाख १३ गते तस्बिर (फोटो ब्लक) छापी प्रकाशित गरेको उल्लेख छ । भानुभक्त आचार्यद्वारा लिखित आफ्नो आम सञ्चार र पत्रकारिता अध्ययन (२०७३ः२९०) पुस्तकमा वैशाख १३ गते (१९८४) लाई नै पहिलो तस्बिर मानिएको छ । सूर्यमतीकै तस्बिर पहिलो भएको स्पष्ट छ तर दीपक अर्याल ‘फोटोग्राफी र फोटो पत्रकारितामा’ (२०६६ः१४०) र मिडिया रिडरमा चन्द्रशेखर कार्की (२०७१ः १३६) फरक तथ्य औँल्याउनु भएको छ । फोटो पत्रकार कार्की लेख्नुहुन्छ, “तत्कालीन श्री ३ प्रधानमन्त्रीको जन्म दिन १९८२ साल असार २३ को अङ्कमा प्रधानमन्त्रीको तस्बिर छापिएको छ । यसलाई आधार मान्ने हो भने नेपालको पत्रिकामा छापिएको पहिलो तस्बिर चन्द्रशम्शेरको नै हो । ”
कार्कीका अनुसार, सूर्यमतीको तस्बिर छापिनुपूर्व नै चन्द्रशमशेरका तीनवटा तस्बिर छापिएका छन् । वैशाख १३ गतेलाई नै किन ‘फोटो पत्रकारिता दिवस’ मनाउन थाल्नु भयो भन्ने जिज्ञासामा फोटो पत्रकार क्लब (पिजे क्लब)का अध्यक्ष विकास कार्कीले १९८४ वैशाख १३ गते गोरखापत्रमा क्याप्सनसहितको सूचना र सन्देश दिने तस्बिर छापिएको छ, त्योभन्दा अगाडि छापिएका तस्बिरमा क्याप्सन नभएकाले वैशाख १३ गतेलाई फोटो पत्रकारिता दिवस मनाउँदै आएको स्पष्ट पारेका छन् । (गोरखापत्रबाट)