Logo

विदेशमा दुःख पाएका नेपालीलाई राहत दिने र उद्धार गर्ने कार्यमा ढिलो गर्नुहुन्न- सुजाता कोइराला



काठमाडौं, १३ वैशाख । पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकका लागि सरकारले तत्काल राहत र उद्धार अगाडि बढाउनुपर्ने बताएकी छिन् । उनले कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै लडिरहँदा देशले आफ्ना हरेक नागरिकको जिम्मेवारी गम्भीरतापूर्वक बहन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

‘सँसारको जुनसुकै कुनामा रहेका नेपाली नागरिकको उद्धार र राहतमा ढिलाई गरिनुहुन्न,’ अमेरिकाका व्यवसायी फ्रिक्समन माइकल र कोभिड-१९ सम्बन्धि गैर आवासीय नेपालीका अध्यक्ष सुनिल शाहसँगको भिडियो कन्फरेन्समा कोइरालाले भनिन्, ‘विदेशमा रोजगारीका सिलसिलामा गएका, अध्ययनका सिलसिलामा गएका नेपालीका लागि राज्यले गम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जानेहरुको ठूलो योगदान भएको उल्लेख गर्दै कोइरालाले प्रत्येक नेपालीको दुःख सुख बुझेर काम गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘विदेशमा जानेको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ, अब उनीहरु विपत्तिमा भएमा तत्काल राहत दिने गरी कदम चाल्नुपर्छ ।’

विदेशमा अध्ययनका लागि गएका विद्यार्थीहरु पीडामा रहेको खबर आइरहेको भन्दै सरकारले तत्काल राहतमा जोड दिनुपर्ने बताइन् । विदेशमा अध्ययन गरेर आएकाको सीप र बुद्धि देशका लागि प्रयोग हुनसक्ने भन्दै उनीहरु अलपत्र परेको या भोकै परेको भए सहयोगमा जोड दिइन् । गैर आवाशीय नेपालीहरुलाई विदेशमा रहेका नेपालीको पीरमर्का बुझिदिन आग्रह गरिन् ।

महामारीको समयमा सबैभन्दा समस्यामा महिला, बालबालिका र वृद्धवृद्धा हुने भएकाले उनीहरुको उचित हेरचाह हुनुपर्ने बताइन् । महामारीको बेलामा उनीहरुको उचित ध्यान दिन आग्रह गरिन् ।

कोरोना भाइरसबाट उद्योग व्यवसायलगायत सबै क्षेत्रमा समस्या बढेकाले श्रमिकहरुको हितमा सरकारले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताइन् । उनले अन्य देशको अवस्था र अभ्यासबारे समेत जानकारी लिदै नेपालले पनि सकारात्मक अनुभवलाई आफ्नो देशमा लागू गर्नुपर्नेमा जोड दिइन् । उनले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एक हुनुपर्ने र अनावश्यक राजनीतिक घटनामा अल्झन नहुने बताइन् । ‘अहिले हरेक देश द्धन्द्ध र विवादमा बस्ने होइन, कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने हो,’ सुजाता कोइरालाले भनिन् ।



प्रतिक्रिया दिनुहोस्