Logo

घरमै रही रमजान व्रत शुरु



काठमाडौँ, १३ वैशाख : मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् ।

इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको घण्टाघरस्थित नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरिरहेका छन् । एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको अध्यक्ष समिमले जानकारी दिनुभयो । शुक्रबार मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको थियो ।

देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।

रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाइन्छ । नदेखिए ३०औँ दिन मनाइने अध्यक्ष समिमले सुनाउनुभयो । इस्लामिक पात्रोअनुसार ३१औँ दिन नहुने जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्