काठमाडौं, १३ वैशाख । दश वर्षे हिंसात्मक माओवादी जनयुद्धका रणनीतिकार डा. बाबुराम भट्टराईले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको खतरनाक अस्त्रलाई निस्तेज पारिदिएका छन् । आफ्नो दल विभाजनसहित ओलीले ल्याएको विधयेक असफल मात्र पारेनन् ओलीले खटाएकाहरुलाई एम्बुसमा पारेका छन् ।
बाबुरामको एम्बुसमा परेकामा ओलीका सबैभन्दा नजिकका सांसद महेश बस्नेत, किसान श्रेष्ठका अलावा उनैले यसअघि आइजीपी बनाएका सर्वेन्द्र खनाल छन् । अहिले तीनैजनालाई अपहरणको गम्भीर आरोप लागेको छ । यसको प्रतिरक्षा गर्नमा वाध्य भइरहेका छन् । यतिसम्मकी बाबुरामको एम्बुसमा परेर ओली समेत धेरै पछि रक्षात्मक बन्नुपरेको छ ।
कसरी बन्यो एम्बुस
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई स्वास्थ्यमन्त्रीको लालचा देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रहरु १० वैशाखमा तराई झरे । यता ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश विवादमा परिरहेको थियो उता उनका विश्वासपात्रहरु यही राजनीतिक अस्त्रको लक्ष्य भेद सफल बनाउन तराई झरिसकेका थिए ।
ओलीलाई ‘बा’ भन्ने भक्तपुरका सांसद महेश बस्नेत, तनहुँमा रामचन्द्र पौडेललाई चुनाव हराउने किसान श्रेष्ठ र सिंघम शैलीको आक्रामक प्रहरीको परिचय बनाएर हालै रिटायर्ड भएका पूर्व आइजीपी सर्वेन्द्र खनाल अपुग सांसद पुर्याउन सुरेन्द्र यादवलाई फकाउन पुगेका थिए । उनीहरु यादवको महोत्तरीस्थित घरमै पुगेको स्पष्ट भइसकेको छ ।
यादवलाई फकाउन समाजवादीकै अर्का सांसद उमाशंक अरगरिया, सुर्यनारायण यादव, प्रमोद यादवलगायतको साथ लिएका थिए । रेणु यादवको नेतत्वमा समाजवादी पार्टी फुटाउने तयारी बनिसकेको थियो । जसमा एकजना सांसद संख्या अपुग भएको थियो । सांसद संख्या पुर्याउन हम्म परेपछि सुरेन्द्र यादवको नाम आयो । उनलाई फकाउन तराईमा लामो समय प्रहरी इञ्चार्ज भएर बसेका सर्वेन्द्र खनालको साथ लिन खोजियो ।
महोत्तरीस्थित घरमै खाना खाँदै गोप्य बैठक बसेर उमाशंकरलाई स्वास्थ्यमन्त्रीको प्रस्ताव गरियो । यसमा उनी सहमत भएको बुझिएको छ । लामो छलफलका क्रममा सुर्यनारायण यादवलगायतसँग समेत भेटेरै सल्लाह गरेका थिए । तर, यसबीच सुरेन्द्रले डा. बाबुराम भट्टराईलगायत शक्तिशाली व्यक्तिहरुसँग सुचना लिक गरिसकेका थिए । उनले फोनको सिमकार्ड फेरेर गोप्य ढंगले बाबुरामसँग कुराकानी गरेपछि उनकै योजना अनुसार काठमाडौं लागे ।
यतिबेलासम्म सुरेन्द्र यादव बाबरामकै योजना अनुसार चल्न थालिसकेका थिए । यादवले समाजवादी पार्टी फुटाउन को को सांसद तयार छन् भनेर बुझ्न चाहेपनि त्यसबारे महेश बस्नेतको टोलीले बताएको थिएन । उनी त्यो सुचना पनि जान्न चाहन्थे । सुरेन्द्र काठमाडौं आउँदै गर्दा बाबुरामका सहयोगी विश्वदीप पाण्डेले उनको अपहरण भएको सामाजिक सञ्जालमा राखिसकेका थिए ।
स्मरणीय रहोस् रिपोर्टर्स नेपालले महेश बस्नेतको टोली सुरेन्द्र यादवसम्म नपुग्दै समाजवादी पार्टी फुटाउने तयारी भएको र ८ सांसद तयार भएको खुलासा गरिसकेको थियो । जसमध्ये २ सांसद तयार नभएपछि सुरेन्द्र विकल्पका रुपमा हेरिएका थिए । यता सुरेन्द्रले बाबुरामकै योजना अनुसार आफूलाई चलाइरहेका थिए ।
उनी होटल मेरियटमा रात बसे । त्यसबीच पनि उनले धेरै तथ्य जानकारी पाउन सकेनन् । मध्यराति समाजवादी पार्टी र राजपा एक भएको खबर पाइसकेका थिए । विहानीपख समाजवादी पार्टी फुटाउनेबारे उनले जानकारी पाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहान ९ बजे भेट्ने समय मिलिसकेको थियो । तर, साँढे ८ बजे नै सुरेन्द्र होटलमा बाबुरामलाई गाडी लिन पठाएर निस्किए । उनलाई लिन विश्वदीप पाण्डे पुगेका थिए ।
यसरी बाबुरामले एम्बुस हालेर ओलीको अस्त्रलाई निस्तेज मात्र पारेनन् ध्वस्त पारिदिए । ओलीको अस्त्रले बाबुरामले दोहोरो राजनीतिक लाभ लिन सकेका छन् । निकै बलियो बन्दै गरेका ओलीलाई कमजोर सावित गरिदिए । जसका कारण ओलीलाई आफैले ल्याएको अध्यादेश फिर्ता लिनुपर्यो । अहिले उनी समाजवादी पार्टी र राजपाको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीको नेता बनेका छन् । ओलीको पार्टी फुटाउने प्रयास विफल बनाएको जस लिनुका अलावा पार्टी एकीकरणको जस समेत लिदै बाबुराम नेता बन्न सफल भएका छन् । कुनैबेला एक सांसद सदस्य रहेको नयाँ शक्तिको नेता उनी अहिले ३४ सांसद भएको जनता समाजवादी पार्टीको नेता बनेका छन् ।
बाबुरामले १० वैशाखमा थापेको एम्बुसले उनलाई फेरि छलाङ मार्ने अवस्थामा पुर्याएको छ । तथापि, नयाँ दल नबन्दै रहेको असन्तुष्टिले उनमा चुनौती थपेको छ । विभाजनमा सक्रिय भएकाहरु नफर्कने संकेत देखाइरहेका छन् । राजपाका केही नेताहरु पनि निकै असन्तुष्ट बनेका छन् ।