Logo

सांसद अपहरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्न ६ विद्यार्थी संगठनको माग



सरकारले कारबाही नगरे हामी आफैं कारबाही गर्न बाध्य हुनेछौं”

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघसहित ६ विद्यार्थी संगठनले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई अपहरण गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ, तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि सांसद यादवलाई अपहरण गरेर जनकपुरबाट काठमाडौं ल्याईएको आरोप लागेको बेलामा ६ विद्यार्थी संगठनले यस्तो माग गरेका हुन् ।

सांसदलाई जबर्जस्ती मानसिक दबाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न उनीहरुले सरकारसॅग जोडदार माग गरेको कुरा संयुक्त विज्ञप्तिमा जनाएका छन् । अपहरण काण्डमा संलग्नलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाही गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, राप्रवि संघ (संयुक्त) का अध्यक्ष धनसुर शाही र अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सांसद अपहरणमा संलग्नहरुलाई कानूनी दायरमा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

उनीहरुद्धारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ-“सिंगो विश्व कोरोना (कोभिड १९) को संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पूर्ण लकडाउन गरी ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पूर्ण नेपालीको शीर निहुरिने अवस्था सृजना भएको छ ।”

विज्ञप्तीमा थप भनिएको छ-“सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भिर क्षणमा नेपाली राजनीतिलाई नै बदनमा गर्ने योजना तथा लोकतन्त्रलाई कमजोर पार्ने यो अपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भत्र्सना गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot