वैशाख १४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा भएको भनिएको जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ´अपहरण´ प्रकरणमा प्रत्यक्ष जोडिएका तीन जनालाई कारकाही गर्न दबाब बढिरहेको छ ।
प्रतिपक्षी दल निकट ६ विद्यार्थी संगठनहरुले सांसद अपहरण प्रकरणमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रवि संघ र अखिल (क्रान्तिकारी) ले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल कारबाही गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीको निर्देशनमा सत्तारुढ दलका २ जना सांसदसहित पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेर काठमाडौं ल्याएर पार्टी फुटाउन दबाब दिएको आरोप छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भीर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो आपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भर्त्सना गर्दछौं ।`
सांसदलाई जबर्जस्ती मानसिक दवाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
यादवलाई सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व आईजीपी खनालले महोत्तरीबाट काठमाण्डौ ल्याएका थिए ।
यस्तो छ विज्ञप्ति :