काठमाडौं, १४ बैशाख । फेसबुक, ट्वीटर, युट्युबजस्ता सर्वप्रिय सोसल मिडियाहरु हामी ताजा सूचनाका लागि समेत प्रयोग गर्छौँ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला हामी कोरोना संक्रमितको संख्या कति पुग्यो ? भनी जान्न समेत सोसल मिडियाकै भरमा छौँ । स्वास्थ्य मन्त्रालयले समेत सोसल मिडयामार्फत नै सूचना दिइरहेको छ ।
यस्तो बेला कतिपय हामीलाई कामै नलाग्ने, त्रास फैलाउने, निराशा बढाउने, नकारात्मकता फैलाउने जस्ता सूचनाहरु पनि सोसल मिडियामा टुप्लुक्क देखा पर्छन् । नचाहेरै पनि देखिने यस्ता सूचना सामग्रीबाट हामीलाई डर, निरासा फैलाइरहेको हुन्छ । तर सोसल मिडियामा आउने सूचना तथा सामग्री सही हो कि होइन भनी छुट्याउन पनि गाह्रो छैन । साथै सोसल मिडियाका राम्रा सामग्री हाम्रा लागि उपयोगी र ज्ञानबद्र्धक पनि हुन्छ ? सेन्टर फर मिडिया रिसर्चका सोसल मिडिया अध्ययन कर्ता उज्ज्वल आचार्यले सँगको कुराकानीमा दिनु भएका केही टिप्स ।
सामान्य प्रयोगकर्ताले सोसल मिडियामार्फत आउने सूचना भरपर्दो र सही हो भनी कसरी छुट्याउने ? सोसल मिडियाबाट मात्रै होइन, अरू जुनसुकै स्रोतबाट आउने सूचनाहरू प्राप्त गरिहाल्ने बित्तिकै विश्वास गर्न हुँदैन । कुनै पनि सूचनालाई यो गलत कुरो हो कि रु भन्ने सोचेर आलोचनात्मक दृष्टि दिएर मात्रै ग्रहण गर्नुपर्छ । यद्यपी केही सामान्य उपायहरू छन् जसबाट सोसल मिडियामा प्राप्त सूचनाहरू भरपर्दो हो कि होइन भन्ने छुट्टाउन सकिन्छ । पहिलो, सूचनाको स्रोत हो । सूचना सेयर गर्ने व्यक्ति को हो, जे सूचना दिइरहेको छ, त्यस विषयमा उ जानकार हो कि होइन रु अथवा कुनै लिङ्क छ भने त्यो वेबसाइट चिनेजानेको भरपर्दो हो कि होइन ? भनेर हेर्ने हो ।
दोस्रो, सेयर भएका कुराहरू उसका आफ्ना कुरा हुन् कि अरूले पठाएका कुरालाई सेयर मात्रै गरेको हो ? आफ्नै अनुभव नभएका र रे भनेर गरिएका सूचनाहरूमा भर पर्न हुन्न । सोसल मिडिया जो कसैले पनि चलाउन सक्छ र त्यसमा आएका कुराहरू व्यक्तिगत हुन् त्यसैले विश्वसनीय हुँदैन भनेर सोच्नु नै ठिक हो । भरपर्दो र सही सूचनाहरू चाहिँ विषयमा जानकार व्यक्तिले आफैँ लेखेका वा नाम चलेका र विश्वसनीय मिडिया वा स्रोतबाट आएका हुन्छन् । चिकित्सकले स्वास्थ्यसम्बन्धी लेखेको कुरा ठिक हुने सम्भावना धेरै हुन्छ । तर इञ्जिनियर वा शिक्षकले सेयर गरेका अस्पताल वा स्वास्थ्यका कुरा सही नहुने सम्भावना रहन्छ । (गोरखापत्रबाट)