Logo

सक्रिय हुँदै राष्ट्रिय सभाका समिति



काठमाडौँ, १४ वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गतका समिति बन्दाबन्दीको समयमा पनि सक्रिय हुन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि बन्दाबन्दी लागू भएपछि निष्क्रिय बनेका संसदीय समिति शुक्रबार औपचारिक बैठक बसेका थिए । आइतबारका लागि पनि बैठक तय छ ।

समसामयिक विषयमा केन्द्रित हुँदै शुक्रबार मात्रै तीनवटा समिति कक्षमै उपस्थित भएर सामाजिक दूूरी कायम गर्दै बैठक बसेका थिए । बन्दाबन्दीपछि शुक्रबार पहिलोपटक तीनवटा समितिका त्यसरी नै बैठक बसेका हुन् । राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बसेको थियो । विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबार बैठक बस्दैछ । यसअघि भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै बैठक बसेका थिए । राष्ट्रिय सभा अन्तर्गतका समितिमा सदस्य सङ्ख्या न्यून भएका कारण पनि सामाजिक दूरी कायम गरेर बैठक बस्न सहज भएको हो ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभा अन्तर्गतका समितिमा प्रतिनिधि सभाको भन्दा सङ्ख्या कम भएकाले सामाजिक दूूरी कायम गरेर बस्न सकिने अवस्था भएको बताएका छन् ।

बैठक बस्नुअघि ज्वरो नाप्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गरिएको जानकारी दिँदै उनले पूर्णतः सावधानी अपनाइएको बताएका छन् । अहिलेको अवस्थामा नागरिकको समस्या सम्बोधन गर्न, कोरोना विरुद्धको राष्ट्रिय अभियान सम्बोधनका सन्दर्भमा संसदीय छलफल आवश्यक भए पनि भर्चुअल रूपमा गर्न सकिने अवस्था छ । संसदीय समितिका बैठकलाई कसरी भर्चुअल रूपमा अगाडि बढाउन सकिन्छ भनेर संसद् सचिवालयले अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । धमलाले भर्चुअल बैठकको तयारीको काममा सचिवालय जुटिरहेको जानकारी दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भर्चुअल प्रविधिको सहयोगमा संसदीय छलफल चलाउन सचेत गराएको थियो । विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीले सामाजिक दूरी कायम गरी नियमित रूपमा समितिका बैठक बस्ने जानकारी दिएका छन् ।

समितिमा रेल्वे विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान अयोग (तेस्रो संशोधन) विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक र नेपाल विशेष सेवा विधेयक विचाराधीन रहेको जानकारी दिएका छन् । उनले संसद्को आगामी अधिवेशनमा समितिले सुरुमै प्रतिवेदन पेस गर्ने तयारी स्वरूप बैठक नियमित बस्ने भएको हो बताएका छन् । विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा १० सदस्य उपस्थित रहेको उहाँले जानकारी दिएका छन् । यस समितिमा १५ सदस्य रहेका छन् । दिगो विकास तथा सुशासन समितिका सचिव निर्मलादेवी लामिछानेले शुक्रबार बसेको बैठकमा छ सदस्य मात्र उपस्थित भएको जानकारी दिएका छन् । समितिमा १४ सदस्य छन् । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक चाहिँ कोरोना विरुद्धको राष्ट्रिय अभियानको सन्दर्भमा केन्द्रित रहेको थियो । विधायन व्यवस्थापन समितिले कोरोनासँग सम्बन्धित विषयवस्तुका साथै नीति अनुसन्धान प्रतिष्ठान, विधेयकमा पनि छलफल गरेको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot