Logo

नेतृत्वमा ‘नमुना’ हुनुुहुन्थ्यो अधिकारी



काठमाडौँ, १४ वैशाख । नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीलाई निष्ठाको राजनीति, शालीन व्यक्तित्व र खुला हृदयका नेताको रूपमा लिइन्छ ।

२०५६ वैशाख १३ गते दिवङ्गत हुनुुभएका अधिकारीको सम्झनामा बन्दाबन्दीका कारण शनिबार कुनै औपचारिक कार्यक्रम हुन सकेन । तर पाका व्यक्तित्वहरू उहाँलाई ‘नमुना’ नेतृत्वका रूपमा चिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता अधिकारी दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा समेत परिचित हुनुहुन्छ । वरिष्ठ वाम बुद्धिजीवी गोविन्द ज्ञवालीले लामै सङ्गत गरेका छन् । उनको अनुभवमा नेपालको कम्युनिस्ट आन्दोलनमा ‘नमुना’ नेतृत्व हुनुहुन्छ, मनमोहन । उहाँ भन्नुहुन्छ, “गतिशील नेतृत्व, स्पष्ट वक्ता, सरल जीवनशैली, खुला हृदयको नेता हुनुहुन्थ्यो अधिकारी । ”

ज्ञवालीले विगत सम्झनुभयो, “उहाँलाई भेट्दा ऋषिमुनीसँग भेटेको अनुभूति हुन्थ्यो । कार्यकर्तालाई गर्ने व्यवहार निकै राम्रो थियो । उहाँको जस्तो सोच बोक्ने हो भने नेपालको विकास सजिलै गर्न सकिन्छ । ” ‘सामाजिक सुरक्षा भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ जस्ता लोकप्रिय कार्यक्रमका प्रणेता अधिकारीलाई ‘निष्कलङ्क प्रधानमन्त्री’का रूपमा लिनुहुन्छ, ज्ञवाली । त्यस्तै बाम बुद्धिजीवी गोपीरमण उपाध्यायको बुझाइमा अधिकारी शालीन नेता हुनुहुन्थ्यो । अधिकारीको प्रेमपूर्ण व्यवहार, बौद्धिक प्रस्तुतिबाट प्रभावित उपाध्याय भन्नुहुन्छ, “सङ्गठनात्मक रूपमा नेकपा ९माले०मा आबद्ध भए पनि अधिकारीसँग मेरो लामै उठबस थियो । ”

उहाँले २०३६ सालको जनमतसङ्ग्रहमा समेत मनमोहन अधिकारीको ‘जनपक्षीय बहुदल समाज’का गतिविधिमा भित्री रूपमा सहयोग गरेको स्मरण गर्नुभयो । त्यस्तै नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल अल्पमतको सरकार नौ महिना मात्र चलाउन पाउँदा पनि जनतामा छाप छोड्न सफल नेतृत्वका रूपमा अधिकारीलाई सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “सरकार सफल हुनुको पछाडिको कारण थियो, पार्टी र सरकारबीच राम्रो समन्वय । ” त्यस्तै महिला नेत्री शान्ति अधिकारी उहाँलाई नेपाली इतिहासका ‘युगपुरुष’का रूपमा सम्झनुभयो । स्वर्गीय अधिकारीबारे नेत्री अधिकारीले भन्नुभयो, “जो आमनेपाली जनताको मनमा बस्न सफल एक सच्चा कम्युनिस्ट नेता । यो देशलाई सदैव अधिकारीको आवश्यकता खड्किरहनेछ । ” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot