उदयपुर, बैशाख १४ र पछिल्लो सातादिनयता कोरोना भाइरसको संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरमा भारतीय धर्म प्रचारकबाट कोरोना फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ । शनिबार आएको पछिल्लो १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो ।
गत बिहीबार पछिल्लो पटक ७८ मुस्लिमसहित स्वास्थ्यकर्मी र अन्यको स्वाब संकलन गरी विराटनगर पठाइएको रिपोर्ट शनिबार आउदा सबै नेगेटिभ पाइएको छ । भारतीय नागरिक सुरुमा उदयपुर टेकेको प्रवेशविन्दु चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको शिवाईका ५ महिलासहित ५८ को स्वाबको रिपोर्ट नेगेटिभ आएपछि भुल्केमा संक्रमण भारतीयबाट नभएको यकिन भएको निश्कर्षमा जिल्लाबासी पुगेका छन् । उनीहरुसँगै भुल्केसँग सीमा जोडिएको त्रियुगा नगरपालिका २ को मोथियाहीस्थित मस्जिद आसपासका ४ महिलासहित २० को स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट मंसिर २५ गते जोगवनी नाका भएर नेपाल प्रवेश गरेको रेल टिकट प्रमाण बोकेका भारतीय धर्म प्रचारकहरु सदरमुकाम गाईघाटदेखि ५ किलोमिटर दक्षिण भुल्के मस्जिदमा चैत १ गते आएको खुलेको छ । त्यसअघि मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिदमा हुँदै उदयपुरको सुन्दरपुरसँग सीमा जोडिएको सप्तरीकै फत्तेपुर मस्जिद बसेर उदयपुर प्रवेश गरेको ट्राभल हिस्ट्री प्रहरीले पत्ता लगाएपछि संक्रमण उनीहरुबाट नभई नेपालीबाट सरकेको अनुमान गरिएको थियो । शिवाईभन्दा अगावै फत्तेपुर मस्जिदमा बस्नेहरुको स्वाब रिपोर्टसमेत नेगेटिभ आएपछि उनीहरुबाट संक्रमण नभएको अनुमान थप बलियो देखियो ।
भारतीयबाट संक्रमण नफैलिएपछि स्थानीयबाटै सरेको निश्कर्ष जिल्लाबासीले निकालेका छन् । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले भारतको लखनउमा उद्र्धु भाषा अध्ययनरत भुल्केकै युवा घर फर्केपछि संक्रमण फैलिएको निश्कर्ष निकालेका छन् । घर फर्केपछि उनी मस्जिदको सम्पर्कमा आएको देखिएको हुनाले उनीबाटै संक्रमण फैलिएको प्रारम्भिक निश्कर्षमा पुगेको उनले बताए ।
मेयर चौधरीका अनुसार चैत ४ गते लखनउबाट रेलमार्ग हुँदै फर्केका उनी जोगवनी भएर नेपाल प्रवेश गरी सार्वजनिक गाडीमार्पmत भुल्के घर आईपुगेको ‘ट्राभल हिस्ट्री’ खुलेको छ । घर आएको केहीदिनपछि ज्वरोसमेत आएको उनलाई स्थानीय मेडिकलबाट औषधि किनेर खाएपछि सामान्य भएसँगै मस्थिदमा बाक्लो आउजाउ भएको पाइएकाले रोग संक्रमण उनीबाटै सरेको हुन सक्ने आजको नागरिक दैनिकमा खवर छ ।