Logo

विदेशमा रहेका नेपालीबारे सोच्न आग्रह



काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले देशबाहिर रहेका करिब ५० लाख नेपालीलाई अभिभावकत्व प्रदान गर्न सरकारसँग माग गरेको छ । विदेशमा रहेका ५० लाख नेपालीकै एकमुष्ठ स्वदेश फिर्ती होइन, अप्ठ्यारोमा परेर फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीलाई मात्रै स्वदेश फर्काउन तत्काल ठोस योजना बनाउन नेपाली काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

उनीहरूले पठाएको विप्रेषणबाट मुलुकको अर्थतन्त्र चलेको भन्दै काँग्रेसले यस्तो आग्रह गरेको बताएको छ । गत आर्थिक वर्षमा विदेशमा बसेका नेपालीले सात खर्ब ७९ अर्ब रुपियाँ स्वदेश पठाएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । विदेशमा रहेका नेपालीबारे ११ बुँदे पार्टीको दृष्टिकोण शनिबार सार्वजनिक गर्दै काँग्रेसले सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाऔँ भन्ने अपिल गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभरि छरिएर रहेका नेपालीबारे सरकारको ध्यानाकर्षण गराइएको काँग्रेसले स्पष्ट पारेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले हालसम्म विदेशमा रहेका ५० नेपालीको मृत्यु भएको र झन्डै दुुई हजार दुई सयभन्दा बढी नेपाली सङ्क्रमित भएको बताएका छन् । सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित, सङ्गठित गर्न र नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्न काँग्रेसले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्