Logo

‘सांसद अपहरणकाण्ड’ मा संलग्नमाथि मुद्दा हाल्न बाबुराम-उपेन्द्र कानुनी परामर्शमा



काठमाडौं, १४ वैशाख । सांसद डा. सुरेन्द्र यादव ‘अपहरणकाण्ड’ मा संलग्नमाथि कारबाही गराउन जनता समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत कानुनी परामर्शमा जुटेका छन् । उनीहरुले कानुन व्यवसायीसँग परामर्श गरेर अगाडि बढ्ने योजना बनाएको बुझिएको छ ।

भट्टराईले अध्यादेश र सांसद अपहरण प्रकरणलाई सार्थक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । उनले अपहरण नै भएको जिकिर गर्दै त्यसको कानुनी उपचारको बाटो समेत रोज्ने बताएका हुन् । घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । यसो नभएको अवस्थामा नेकपाले नै अविश्वासको प्रस्ताव ल्याउने र प्रतिपक्षीले समर्थन गरेर हटाउने उपाय समेत उल्लेख गरेका छन् । यसो नभए संयुक्त संघर्षबाट सत्ताच्युत गर्ने उनको भनाई रहेको छ ।

सांसद सुरेन्द्र यादव अपहरणकाण्डमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि आरोप लाग्दै आएको छ । तर, तिनै जनाले आफूहरुसँग पूर्वमन्त्री समेत रहेका सांसद सुरेन्द्र यादव सँगै आएको दाबी गर्दै आएका छन् । समाजवादी पार्टीकै केही सांसदहरुले सुरेन्द्र यादवले मन्त्री बन्न नपाउने भएपछि अपहरणको झुठो आरोप लगाएर हिरो बन्न खोजेको आरोप लगाइरहेका छन् । यसले यो विवाद निकै पेचिलो बन्दै गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot