Logo

ओलीले बैठक डाक्नुभएन भने हामी कदम चाल्छौं- डा. वेदुराम भुसाल



काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. बेदुराम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा बैठक बोलाउनुपर्ने बताउँछन् । बैठकमै ओलीले आफूमाथि लागेको आरोपको सामना गर्नुपर्ने उनको भनाई छ । डा. भुसालसँग नेकपाको आन्तरिक विवादको विषयमा एनआरएन रेडियोका लागि ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीले त स्थायी समितिको बैठक नबोलाउने संकेत गर्नुभएको तपाईंहरु के गर्नुहुन्छ ?
विधानअनुसार हुने बैठक नबोलाउने कुरै आउँदैन नि ।
उहाँले त अहिले नै बैठक नबोलाउँ पहिला प्रधानमन्त्रीमा म सुनिश्चित हुनुपर्छ भन्नुभएको छ नि ?
त्यो उहाँको कुरा होला तर हाम्रो स्थायी कमिटि बैठक बस्नुपर्छ भन्ने हो ।
स्थायी समिति बैठकमा तपाईंहरुको एजेन्डाहरु के के छन् ?
त्यो बैठकमा यो सरकार बनिसकेपछि यताका सबै कामको समीक्षा हुन्छ । त्यसपछि हामी कसरी अगाडि बढ्छौं भन्ने विषयहरुमा छलफल हुन्छ ।
तपाईंंहरु चाहीं कसरी अगाडि बढ्नु हुन्छ ?
यो त बैठकमा छलफल भइसकेपछि मात्रै थाहा हुन्छ ।
यदि प्रधानमन्त्रीले बैठक बोलाउनुभएन भने तपार्इंंहरुसँग विकल्प के छ ?
अर्का अध्यक्ष हुनुहुन्छ नि । हामीसँग दुईवटा अध्यक्ष हुनुहुन्छ ।
केपी शर्माले मान्नु भएन भनेपनि उहाँले बैठक बोलाउनुहुन्छ ?
बोलाउनु पर्यो नि । त्यो नहुनेभए दुईवटा अध्यक्ष किन बनाएको त ? एउटा अध्यक्षले काम नगर्दा अर्का अध्यक्षले पनि नगर्ने हो भने दुईवटा अध्यक्ष रहेको औचित्य भएन नि ।
केपी ओलीले त अन्तिम अवस्थासम्म पनि सामना गर्छु भन्नुभएको छ नि ?
उहाँले सामना गर्ने बैठकमै हो नि बाहिर हो र ? बैठक बसालेर कुरा गर्नुपर्यो । साथीहरुको चित्त बुझाउनुपर्यो ।
हिजो वामदेव गौतमले राजीनामा दिनुपर्छ भन्नुभयो नि ?
वामदेव गौतमले भन्नेबित्तिकै सबै कुरा हुने होइन नि । बैठक बसेर छलफल गर्नुपर्यो । त्यो बैठकले जुन निर्णय गर्छ त्यसको आधारमा अगाडि बढ्ने हो ।
वामदेवले त राजीनामा दिनुस् पार्टीले निर्णय गर्छ भन्नुभयो नि ?
त्यो त वामदेवले न भन्नुभयो । त्यो वामदेवको मत अरुको मत के हुन्छ के थाहा । त्यसैले बैठक बसेर छलफल गरिसकेपछि थाहा हुन्छ ।
त्यसोभए पार्टी अध्यक्ष र सरकारबाट केपीलाई अटाउने सम्भावना छैन ?
त्यसै हटाउने नहटाउने कुरा नगरौं न । बैठक बसेर छलफल गरेर जे निर्णयमा पुगिन्छ त्यही अनुसार अगाडि बढ्ने हो । हटाउन, नहटाउने, राख्ने नराख्ने सबै कुरा बैठकको छलफलमा हुन्छ । बाहिर सडकमा हुने कुरा होइन ।
प्रधानमन्त्रीले त मलाई हटाएर कसलाई बनाउनुहुन्छ ? त्यो सम्भवै छैन भन्नुभयो नि ?
त्यस्ता कुरा बैठकमा आएर भन्नुपर्यो उहाँले । बाहिर सडकमा गएर गर्ने होइन ।
हिजो उहाँले नेताहरुलाई बालुवाटारमा बोलाएर भन्नुभयो नि ?
त्यो कुरा बालुवाटारमा बसेर पनि भन्ने होइन । धुम्बाराई पार्टी कार्यालयमा आएर भन्नुपर्छ ।
प्रधानमन्त्री धुम्बाराई आउनुभएन भने के गर्नु हुन्छ ?
पार्टीका बारेमा कुरा गर्दा पार्टी कार्यालयमा गर्नुपर्छ । त्यो धुम्बाराईमा छ । त्यसैले उहाँ धुम्बाराई आउनुपर्छ । सरकार पनि पार्टीको निर्देशन अनुसार चल्नुपर्यो नि ।
सरकार पार्टीको निर्देशन अनुसार चलेको छैन ?
अहिले चलेको छैन । त्यसैले हामीले पार्टी कार्यालयमा बैठक बसौ, छलफल गरौं । पार्टीहो नीति र निर्देशन अनुसार चल्नुपर्यो भनेर बैठक बस्ने माग गरेका हौं ।
प्रधानमन्त्रीले पार्टीको भनाइअनुसार काम गरेको छु भन्नुभएको छ नि ?
उहाँले के के मान्नुभएको छ, के के मान्नुभएको छैन त्यो हामी बैठकमै कुरा गर्छौं । उहाँले भनेर अस्ति अध्यादेश ल्याउँदा कहाँ पार्टीबाट निर्णय भएर आएको हो र ? अध्यादेशको बारेमा सचिवालयका साथीहरुसँग बैठक चल्दाचल्दै राष्ट्रपति कार्यालयबाट पारित गरिहाल्नुभयो उहाँले त्यो कहाँ पार्टीको निर्णय हो । अहिले पार्टीको निर्णय अनुसार केही काम भएको छैन, त्यही हुनुपर्छ भनेर हामीले बैठक बोलाएको हो ।
कहिलेसम्म बैठक बोलाउनुहुन्छ ?
नियम अनुसार १५ दिनभित्र बैठक बोलाउनुपर्छ । त्यो मितिभित्र बोलाउनुभएन भने त्यसपछि हामी कदम चलाउँछौं ।
त्यो कदम के हुन सक्छ ?
त्यो पछि नै हुन्छ, तपाईंलाई अहिल्यै भन्दिँन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot