Logo

नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ



काठमाडौँ, १५ वैशाख । के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ ? यदि छ भने तपाईँलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी)ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपाली नागरिकको निगरानीका लागि समेत कल सेन्टर सञ्चालनमा ल्याएको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहेको छ । विशेषगरी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जो कोहीलाई पनि फोन सम्पर्क गरी उनीहरुको विवरण लिइराखिएको छ ।

कोरोना भाइरसको सक्रमण भए/नभएको पत्ता लगाउनसमेत कल सेन्टरबाट फोन गरेर आवश्यक जानकारी लिन थालिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सम्भावित बिरामीको पहिचान गर्न तथा उनीहरुको अवस्था पत्ता लगाउनका लागि गत चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरी काम भइरहेको छ । सिसीएमसीमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्डको विवरण लिइएको छ । त्यसका लागि विशेष प्रकारको सर्भरसमेत छाउनीमा स्थापना गरिएको छ । लकडाउनअघि र पछि गरेर नेपाल टेलिकमका नयाँ २० हजार सिम सञ्चालनमा आएको पाइएको छ । यस्तै एनसेलका मात्रै कूल ४२ हजार नयाँ सिम सञ्चालनमा आएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्