Logo

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी



काठमाडौँ, १५ वैशाख । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित बस्ने गरी नजिक नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ । मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा पनि राखिएको दाहालले जानकारी दिएका छन् । मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।
(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्