Logo

बजेट निर्माणमा फेरिएको दृश्य



काठमाडौँ, १५  वैशाख । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे ।

प्रदेशपिच्छे बजेटका लागि सुझाव सङ्कलनको कार्यक्रमले एउटा तरङ्ग नै पैदा गथ्र्यो । यस वर्ष भने परिस्थिति बदलिएको छ ।
कोरोना भाइरस नियन्त्रणस्वरूप जारी बन्दाबन्दीका कारण सुझाव सकेसम्म इमेलबाट लिने गरिएको छ । मन्त्रालयगत छलफलमा पनि सानो र आवश्यक सङ्ख्यामा मात्र अधिकारीको सहभागिता हुने गर्छ । यद्यपि अर्थ मन्त्रालय फुर्सदमा भने छैन । आर्थिक सर्वेक्षण, मन्त्रालयगत प्रगति प्रतिवेदन, संस्थान प्रतिवेदन, रातो किताबजस्तै बजेटसँगै सार्वजनिक गर्नुपर्ने करिब डेढ दर्जन प्रतिवेदन तयारीको काममा मन्त्रालय निकै व्यस्त छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार अहिले दैनिकजसो मन्त्रालयगत छलफलको काम जारी छ । यससँगै बजेटको खाका तयार गर्ने काम पनि भइरहेको छ । नीति तथा निर्देशक सिद्धान्तको मस्यौदा लेख्ने काम पनि सकिएको छ । राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेटको प्राथमिकता निर्धारण र स्रोत व्यवस्थापनको रणनीतिका सम्बन्धमा पनि नियमितजसो छलफल जारी छ । लकडाउनका कारण महत्वपूर्ण आर्थिक गतिविधि करिब ठप्प अवस्थामा रहे पनि संविधानतः जेठ १५ गते नै बजेट ल्याउने तयारीमा सरकार जुटेको हो ।

अर्थ मन्त्रालयले अहिलेसम्म राजस्व परामर्श समितिमार्फत राजस्व प्रशासन सुधारका लागि इमेलबाटै सुझाव ग्रहण गरिरहेको खत्रीले जानकारी दिनुभयो । यसबाहेक बैङ्क तथा वित्तीय, उद्योग, वाणिज्य तथा लगानी, भन्सार, कृषि, ऊर्जा पर्यटन, अन्तरसरकारी राजस्व व्यवस्थापनजस्ता विषयगत क्षेत्रमा विभिन्न नौवटा उपसमितिमार्फत सुझाव सङ्कलनको काम गरिएको छ । जसको अन्तिम समय आज सोमबार पूरा हुँदै छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्