Logo

नेकपाभित्र गुटगत जोडघटाउ सुरु



काठमाडौं, बैशाख १५ । सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्।

पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट रहेकाले आन्तरिक समीकरणका लागि जोडघटाउ सुरु भएको हो। पूर्वएमाले र पूर्वमाओवादीबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्नेलाई आफ्नो पक्षमा पार्न शीर्ष नेताहरु लागिपरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका आ–आफ्नै गुट छन्।

त्यसभित्र पनि वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठका फरकफरक गुट छन्। स्थायी कमिटीभित्र दाहाल र नेपाल समूहमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, मुकुन्द न्यौपाने गरी ३४ जना देखिएका छन्।

नेकपाभित्र बदलिएको समीकरण हेर्दा अहिले स्थायी कमिटीमा ओली स्वतः अल्पमतमा पर्ने अवस्था देखिएको छ।
त्यसैगरी स्थायी कमिटीमा ओली समूहमा ईश्वर पोखरेल, सुवास नेम्बाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ,। सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल गरी १० जना छन्। रामबहादुर थापा र विष्णु पौडेललाई भने तीनै नेताले कुनै पनि समूहमा राखेका छैनन्। स्थायी कमिटीमा थापातर्फबाट देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव देखिए पनि यादवलाई दाहालले आफ्नो समूहभित्र पारिसकेका छन्। दाहाल र यादवबीच केही दिनअघि छुट्टै भेटघाट भएको थियो।

नेकपाभित्र बदलिएको समीकरण हेर्दा अहिले स्थायी कमिटीमा ओली स्वतः अल्पमतमा पर्ने अवस्था देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्