काठमाडौं, बैशाख १५ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालमाथिको अनुसन्धान सकेर उनीमाथि लगाइने मुद्दाको विषयमा सरकारी वकिलको कार्यालयलाई प्रतिवदेन बुझाउने तयारी गरेको हो ।
परिसर काठमाडौंले अग्रवालमाथि कालोबजारी, नाफाखोरी, अवैध भण्डारण तथा कृत्रिम अभावको कसुरमा मुद्दा चलाउने गरी सरकारी वकिल कार्यालयलाई सिफारिस गर्ने तयारी गरेको छ । उनीमाथि तीनदेखि चार वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।
परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले अग्रवालमाथिको अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए ।
‘अनुसन्धान सकियो, प्रतिवेदन तयार हुँदै छ । सरकारी वकिल कार्यालयमा केही दिनमा नै बुझाउँछौं,’ परिसर काठमाडौंका प्रवक्ता बोगटीले राजधानीसँग भने ।
नेपालका लागि किर्गिस्तानका अवैतनिक राजदूतसमेत रहेकाले उनीविरुद्ध सार्वजनिक पद दुरुपयोगको कसुरसमेत आकर्षित हुने प्रहरीले जनाएको छ । मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनीउपर कारबाही हुन सक्छ । प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको कूटनीतिक नियोगको गाडीसमेत नियन्त्रणमा लिएको थियो । राजधानी दैनिकबाट