काठमाडौं, बैशाख १५ । कोरोना भाइरसले आक्रान्त विश्वमा नेपालीको अवस्थाबारे सरकारले बल्ल विस्तृत अध्ययन थालेको छ। परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास दिने जानकारीका आधारमा प्रतिवेदन तयार गर्न लागेको हो। ‘पहिलो चरणमा अधिक नेपालीहरू कार्यरत पश्चिम एसियाली मुलुक हेर्ने दूतावासमार्फत तथ्यांक माग गरेर त्यसअनुरुप सूची तय गर्ने काम भइरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘यो काम पहिलेदेखि नै अद्यावधिक राख्नुपर्ने हो।
समस्या परेको यति लामो समय भएपछि दूतावासमार्फत तथ्यांक र अवस्थाबारे प्रतिवेदन तयार गर्दै छौं।’ जहाजले व्यावसायिक उडान गर्नेबित्तिकै तीन लाख नेपाली स्वदेश फर्कन सक्ने दूतावासको प्रारम्भिक अध्ययनले देखाएको छ। ती नेपाली (तीन लाख) एकैपटक फर्कंदा उत्पन्न हुन सक्ने समस्याबारे सरकार यसको विस्तृत अध्ययनमा लागको हो। एक महिना लकडाउन हुँदा नियमित बिदामा आउने, आफ्नो करार सम्झौता सकेर सदाका लागि फर्कने नेपाली कति छन्, टिकट लिएर त्यसको व्यवस्थापन गर्न नसकेका कति छन्, अवैध (बिनाभिसा) को अवस्था के छ ? लगायतमा बल्ल सरकारको ध्यान पुगेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।