Logo

प्रधानमन्त्री ओलीले तत्काल कुर्सी खाली गर्नुपर्यो- डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उनले नैतिकताका विषयबारे प्रश्न उठाउँदै राजीनामा मागेका हुन् । पछिल्लो समय घटेका राजनीतिक घटनाक्रमलगायतका बारेमा डा. लोहनीसँग ऋषि धमलाले गरेको कुराकानीः
वामदेव गौतमले प्रधानमन्त्रीलाई राजीनामा दिनुहोस् भन्नुभयो तपाई के भन्नुहुन्छ ?
मलाई लाग्छ यो उहाँहरुको आन्तरिक कुरा हो । उहाँको पार्टीभन्दा बाहिरको व्यक्तिले पनि सम्मानीय प्रधानमन्त्री केपी ओलीजीको जुन गतिविधिहरु देखिएको छ । त्यो हेर्ने हो भने उहाँले अब पदमा बस्ने नैतिक आधार छैन ।
उहाँसँग बहुमत छ नि कसरी नैतिक आधार छैन ?
बहुमतले मात्रै सबै कुराको निर्णय गर्दैन । यहाँ बहुमतको कार्यकारी शक्ति आफ्नो हातमा छ । त्यसलाई उहाँले नैतिक शक्ति भनेपनि हुन्छ । हाम्रो देशमा पहिलो जनआन्दोलनपछि बनेको संविधानलाई उत्कृष्ट संविधान भनेको त्यतिबेला माधव नेपालजीले नै हो । त्यो संविधान चलेन किन भने त्यसमा विबृतिहरु आए । त्यसलाई निराकरण गर्नको लागि भनेर अहिलेको संविधानमा जुन किसिमका प्राब्धानहरु राखिएका थिए । त्यो प्राबधान राख्न सबैभन्दा बढी आवाज उठाउने नेकपा हो र त्यसभित्र पनि केपी शर्मा ओलीजी हुनुहुन्थ्यो । आज आफै प्रधानमन्त्री भएको बेलामा त्यही विकृतिहरुलाई अध्यादेशको रुपमा ल्याउने जुन खालको प्रयास गर्नुभयो । जसरी सत्ताको दुरुपयोग सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभयो । त्यो हेर्दा उहाँ कुनै सिद्धान्त भएको मान्छे पनि होइन । कुनै विचार भएको मान्छे पनि होइन खाली सबलाई देखाइ दिन्छु, सबलाई ठेगान लगाइदिन्छु भनने दम्भ र अहंले गर्दा उहाँका कमीकमजोरीहरु छताछुल्ला भएको छ । त्यसकारण अब उहाँ पदमा बस्ने नैतिक आधार छैन । हिजो तपाईंकै टिभीमा डा. यादवको एकण्टाको अन्तर्वार्ता हेर्दा कि त एउटा कमिटि गठन गरेर डा. यादवले के बोलेका हुन् ठिक हो कि गलत हो भनेर छानविन गर्ने हिम्मत देखाउनुप¥यो । यति र ओम्नी काण्डमा छानविन गर्छु भनेको त्यो गर्न सक्नुप¥यो । त्यो पनि गर्न नसक्ने अनि एक किसिमले अपहरण गरेर मान्छे ल्याएर सबैलाई ठेगान लगाउछु भन्ने क्रियाकलाप देखियो । यसले गर्दा उहाँलाई त्यो क्षम्य हुन सक्दैन । प्रधानमन्त्रीलाई मेरो सल्लाह पनि छ उहाँले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुन्छ ।
यो तपाईंको पार्टीको आधारिक दृष्टिकोण हो ?
होइन यो मैले अहिले यहाँ भन्दै छु । हाम्रो पार्टीको बैठक बसेको छैन । बैठक नबसिकन पार्टीको आधिकारिक धारणा त भन्न मिल्दैन । तर, पार्टीको तीनवटा अध्यक्षमध्ये म एउटा अध्यक्षको हैसियतले मेरो धारणा के छ भने प्रधानमन्त्रीज्यूले राजीनामा दिनुपर्छ । त्यो उहाँको लागि पनि उपयुक्त हुन्छ । त्यो गर्दा यस्ताखालका क्रियाकलाप फेरि भविष्यमा कसैले गर्ने आँट पनि गर्दैनन् ।
अब जेठ १५ गते त बजेट पनि आउनुपर्ने, अर्थतन्त्र पनि डामाडोल छ, यस्तो बेलामा उहाँले राजीनामा दिएर समस्याको समाधान होला र ?
तपाईँले ठीक भन्नुभयो अहिलेको अवस्थामा समस्याहरु जटिल छन् । अहिले जुन खालको समस्या नेपालमा पनि छ त्यसलाई समाधान गर्ने दृष्टिकोण प्रधानमन्त्रीको छैन । त्यो गर्ने मन पनि उहाँमा छैन । जसरी हुन्छ म सबैलाई मेरो हैसियत देखाइदिन्छु भन्ने दम्भको पोकोभन्दा बाहेक उहाँमा केही रहेन छ । त्यसैले मेरो नम्र दिवेदन छ, प्रधानमन्त्रीजीलाई उहाँले राजीनामा दिनुपर्छ । राजीनामा नगर्ने भए, हिजो जसरी डा. सुरेन्द्र यादव अन्तर्वार्तामा उहाँमाथि भएको दूव्र्यवहारको गम्भीर ढंगले जसरी बताउनुभएको छ । त्यसको यथार्थता के हो ? उहाँलाई अपहरण गर्न अरु तीन जना मान्छेहरु पनि गएका थिए । तिनलाई पनि बोलाएर निष्पक्ष छानविन गरेर वास्तविकता के हो ? फेरि उहाँहरुले प्रधानमन्त्रीजीले पठाएर आएको भन्नुभएको छ । त्यो यथार्थ हो कि होइन ? त्यो कुरा क्लियर गर्नुपर्यो । आज त्यो ज्ञानेन्द्र शाहीजीलाई गरीवलाई राहत बाँड्यो भनेर थुन्नुहुन्छ भने देशको प्रधानमन्त्री भएको मान्छे फलानो मान्छेलाई समातेर ल्याउनु भनेर मान्छे खटाएर राजनीतिको नाममा जुन किसिमको घटिया काम गर्नुभएको छ । त्यसको लागि को जिम्मेवार हुने ? उहाँहरुले चाहीं जे गर्दा पनि हुने । यस्तो हुन्छ लोकतन्त्र ? उहाँहरु श्री ३ हो ? कित उहाँले कमिसन गठन गर्नुप¥यो । त्यसमा बयान दिन आफू पनि जान तयार हुनुप¥यो । अथवा उहाँले तुरुन्त राजीनामा दिएर खुर्सी खाली गर्नुप¥यो ।
तपाईंले प्राइम टाइम टिभीमा डा. सुरेन्द्र यादवको अन्तर्वार्ता हेर्नुभयो ?
मैले उहाँको अन्तर्वार्ता सुरुदेखि अन्त्यसम्म नै हेरेँ । त्यहाँ डा. यादवले जुन सरल तरिकाले कुरा राख्नुभएको छ, त्यो सत्य छ । यसबाट प्रधानमन्त्री चोखिने हो भने छानविन कमिसन गठन गर्नुपर्यो । यादवजीलाई अपहरण गर्न पठाइएका सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठलगायत अरु जो हुनुहुृन्छ उहाँहरुलाई पनि ल्याएर यथार्थ के हो भन्ने कुरा जनताले थाहा पाउनुपर्छ । पदको आडमा कानुन हातमा लिएर देशमाथि नै शोषण गर्ने काम गर्न पाइँदैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot