Logo

ओलीको आक्रामक अस्त्रमा मध्यावधि देखि संकटकाल सम्म



काठमाडौं, १५ वैशाख । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारमाथि चौतर्फी घेराबन्दी गरिएको खुलाइसकेका छन् । ओलीलाई घेराबन्दी पार्ने योजना तत्कालको होइन यसको लामो शृंखला चल्दै आएको छ ।

दुईपटक मृगौला फेरेर पनि राजनीतिक सक्रियता नघटाएका र राजनीतिक रुपमा कमजोर नभएका ओलीलाई हटाउने चलखेल भएपछि उनले लकडाउनका बेलामा जोखिम मोलेर दुईवटा विवादास्पद अध्यादेश ल्याएको खुलिसकेको छ । उनका प्रेस सल्लाहकार थापाले षड्यन्त्रहरु भएको दोहोर्याउँदै आएका छन् । ओलीविरुद्ध अहिले नेकपाका चारजना प्रभावशाली नेताहरु एकजुट भएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम समेत ओलीविरुद्ध खनिएका छन् । तैपनि, ओलीलाई हटाउन सकेका छैनन् । न त ओली राजीनामा दिने मनशायमा देखिन्छन् ।

कहिले प्रचण्डनिवास खुमलटार त कहिले वामदेव गौतम निवास भैंसेपाटीमा ओली इतरका नेताहरुको बैठक बसेर ओलीविरुद्ध रणनीति बन्दै आएको छ । हिजोमात्र कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा भावी रणनीति तय भएको छ । जसमा माधवकुमार नेपाललाई प्रधानमन्त्री मान्न प्रचण्ड तयार भइसकेको खबर सार्वजनिक भइसकेको छ । तर, पार्टीको सबै बागडोर प्रचण्डको हातमा सुम्पिएर प्रधानमन्त्री मात्र बन्न माधव नेपाल तयार छैनन् । उनका समर्थकहरुले पनि अध्यक्ष र प्रचण्ड दुवैमा दाबी रहनुपर्ने भनी सुझाव दिइसकेका छन् ।

‘रात रहे अग्राख पलाउँछ’ भनेझैं ओलीले विगत दुई रातमा एकपछि अर्को रणनीति चालेर फकाउने र धम्क्याउने सम्मको गतिविधि गरिसकेका छन् । उनले सबै राजनीतिक र गैरराजनीतिक संयन्त्र चलाएर नेकपाभित्र र बाहिरका नेताहरुको टाउकोमा तरबार झुण्ड्याइदिएका छन् । यसकारण ओलीलाई तत्काल हटाउने वाध्यात्मक परिस्थिति खडा गर्न नेताहरुलाई हम्मे परेको छ । प्रक्रिया पुर्याएर स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बसेर निर्णय गराई ओलीलाई हटाउने तयारी नभएको होइन । तर, ओली बैठक डाक्न मानिरहेका छैनन् । बैठकको मिति लम्बिदै जाँदा उनले झन् नयाँ चलखेल गर्ने सम्भावना उत्तिकै छ ।

ओलीसामु कि हट्ने कि आफ्ना विरोधीलाई तह लगाउनेबाहेक विकल्प छैन । यसका लागि उनले राज्य संयन्त्रको हदैसम्मको प्रयोग गर्न सक्छन् । राज्यका धेरै निकायमा उनको कब्जा रहेको देखिन्छ । सबै संयन्त्रमा पकड बनाएकाले पनि ओलीलाई हल्लाउन नेकपाभित्रका चार प्रभावशाली नेतालाई हम्मे परिरहेको छ । त्यसमाथि ओलीले राजनीतिक चक्र घुमाइरहेका छन् ।

ओलीले आफूलाई हटाउन चुनौती समेत दिएको खबर आएको छ । उनले अविश्वासको प्रस्तावको सामना गर्ने देखि अन्य कठोर कदम चाल्ने सम्मको तयारी गरेका छन् । यसअघि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत मध्यावधिको विषय उठाएर आलोचित भएका थिए । परराष्ट्रमन्त्री भइसकेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वापात्रले त्यसै यसो भनेका थिएनन् । अहिले देश त्यो दिशातर्फ जाने सम्भावनालाई नकार्न सकिन्न । ओली चाल्नसक्ने कठोर कदममा यो पनि पर्नसक्छ । कुनैबेला गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र ३६ सेको घेराबन्दीमा परेपछि मध्यावधिको घोषणा गरेका थिए ।

ओलीसामु अर्को विकल्प संकटकाल घोषण पनि हुनसक्छ । देश महामारीको संकटमा रहेको बहानामा उनले त्यस्तो कदम चाल्न सक्छन् । त्यसो हुँदा अहिलेको राजनीतिक प्रणाली नै धरापमा पर्न सक्छ । कठोर मन भएका ओलीले आफ्नो राजनीतिक भविष्य नै जोखिममा परेमा यस्तो अप्रीय निर्णय समेत लिन सक्छन् । अहिले नेकपाका ओली विरोधी नेताहरुलाई यो भयले पनि सताइरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot