Logo

माधव नेपालको ढाडमा टेकेर ओलीमाथि प्रहार गर्दै प्रचण्ड



समाचार विश्लेषण । यतिबेला नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको छ । घटनाक्रम यसरी नै विकास भए नेकपा दुर्घटनामा पर्नसक्छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न प्रभावशाली नेताहरु सक्रिय भइसकेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कोटेश्वरमा पुगेर माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको प्रस्ताव गरिसकेका छन् । नेपालले आफू निकट स्थायी कमिटि सदस्यहरुको छुट्टै भेला गरी सुझाव लिएपछि प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डले ओली हटाउन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

ओली हटाउने अभियान चलिरहँदा दुई विवादास्पद अध्यादेश ल्याएर विवादमा पर्दा प्रचण्डले उपयुक्त अवसर देखेका छन् । यसका लागि उनले विगतमा जस्तै ‘ढाडमा टेकेर टाउकामा हान्ने’ रणनीति अपनाएका छन् । उनले जनयुद्ध देखि नै ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अपनाउने र भन्ने गरेका थिए । यसपटक उनले ओलीलाई प्रहार गर्न माधव नेपालको ढाडमा टेक्न खोजेका छन् ।

देशलाई आफ्नो राजनीतिक एजेन्डामा हिडाउन सफल प्रचण्डले अनेकन पात्रहरुलाई उचाल्ने र साइजमा ल्याउने गर्दै आएका छन् । यस क्रममा उनी बेलामा बेलामा चुक्ने पनि गरेका छन् । प्रचण्डले गणतन्त्र र संघीयताको आफ्नो एजेन्डामा देशलाई बढाउने क्रममा ढाडमा टेकेर टाउकामा हान्ने गर्दै आए ।

अहिले ओलीलाई असफल बनाउन प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर प्रहार गर्न खोजिरहेको देखिन्छ । यसलाई ओलीले कसरी सामना गर्छन् हेर्न बाँकी छ । ओली पनि प्रचण्डको टाउकोमाथि तरबार झुण्ड्याएर कमजोर बनाउन लागिपरेका छन् । यसले नेकपाभित्रको द्धन्द्धको राजनीतिले ठूलै राजनीतिक उथलपुथलको मार्ग कोर्न सक्ने देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot