काठमाडौं, १५ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले एकाएक आफ्नो बोली फेरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने माग गरेका नेता गजुरेलले केपी ओलीको विकल्प नरहेको भन्दै पाँच वर्ष नै ओली प्रधानमन्त्री बन्ने बताएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।
उनले सरकारले अध्यादेश ल्याउनेबित्तिकै आफूले कडा रुपमा कुरा राखेको स्मरण गराए । उनले भने,”मैले कडै रुपमा कुरा राखें । ती कुरा सार्वजनिक भैसकेका छन् । अब दोहोर्याउनु उचित होईन् । तर, हामीले स्थायी कमिटीको बैठक बोलायौं, त्यसपछि मैले त्यसरी कुरा राखेको छैन् ।” उनले आफूहरुले बैठक बोलाएपछि भने बाहिर विभिन्न टिकाटिप्पणी नगरेको स्पष्ट पारे । उनले बैठकको माग गर्नुअघि आफूले पार्टी फुट्छ भन्ने चिन्ताले कडा कुरा राखेको दाबी गरे । तर, बैठक माग भएपछि त्यस्तो कुरा नगरेको उनको जिकिर थियो ।
गजुरेलले आफूहरुले अध्यादेश फिर्ता लिनुपर्छ भनेर माग गरेपछि प्रधानमन्त्री ओलीले पनि सोही निर्णय गरेकोले धन्यवाद व्यक्त गरे । उनले भने,”अब प्रधानमन्त्रीले बैठक पनि बोलाएर स्पष्टसँग कुरा राख्नुपर्छ । बास्तविकता र यर्थात के हो भन्ने कुरा उहाँल्े पनि राख्नुपर्छ । अरु विषयहरु के के हो ? अरु नेताहरुले पनि राख्नुपर्छ । किनभने अन्तरविरोध त चलिरहेको नै थियो नि ।”