Logo

पूर्व एमालेका नेताहरु ओली-नेपाल मिलाउन सक्रिय, पार्टी र सरकार संचालनमा लेनदेन हुनसक्ने



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक संघर्ष गहिरिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने र राख्ने द्धन्द्ध चलेको छ । ओलीलाई हटाउन सचिवालयका अधिकांश सदस्यहरु सक्रिय भएपछि नेताहरु सघन छलफल जुटेका छन् । लकडाउन र कोरोना भाइरसको जोखिमलाई बिर्सेर नेकपा नेताहरुको घरहरुमा बैठकहरु बस्न थालेका छन् ।

गुट र उपगुटको छुट्टैका अलावा गुटहरुबीच आपसी बैठकले तिव्रता लिएको छ । पहिलो तह र दोस्रो तहका नेताहरु छलफमा जुटेका हुन् । यस क्रममा नयाँ धार विकास भएको छ जसले पूर्व एमाले शक्ति बाँडफाँड गरेर मिलेर जानुपर्ने पक्षमा उभिएका छन् ।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउने पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएको र उनले माधवकुमार नेपाललाई अगाडि बढ्न भनिसकेको अवस्था छ । तर, नेपाल संयमताका साथ छलफलमा जुटेका छन् । उनले आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक्ला एक्लै छलफल गरेका छन् । छलफलमा राजनीतिक लेनदेनको विषयमा कुराकानी भएको बुझिएको छ । दुई नेताबीच एक्ला एक्लै भेट हुनुअघि ओलीका विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो माधव नेपाललाई घरमै भेटेका थिए । ज्ञवाली नेता नेपालसँग पनि नजिक मानिन्छन् ।

ओली नेपालबीचको भेट र सहमति गराउने पूर्व एमालेको एउटा समूह दुई नेताबीच शक्ति बाँडफाँडको पक्षमा देखिएको छ । स्रोतका अनुसार पार्टी र सरकार दुई नेताले मिलेर चलाउनेबारे छलफल बढेको छ । जस अनुसार एक नेताले सरकारमात्र चलाउने र अर्का नेताले पार्टीमात्र चलाउने गरी सहमति बनाउन खोजिएको छ । यो सहमति भएमा पूर्व एमालेको हातबाट नेकपाको बागडोर नफुत्कने उनीहरुको बुझाई छ ।

अहिलेको संकटले नेकपाभित्र पूर्व एमालेको पकड गुम्ने र पूर्व माओवादीले पकड बनाउने भन्दै ओली र नेपाल निकट नेताहरु दुवै शतर्क भएको बुझिएको छ । अहिलेको संकट गहिरिएमा नेकपामात्र नभई कम्युनिस्ट पार्टी नै दुर्घटनामा पुग्ने सम्मको खतरा नेताहरुले औल्याएको स्रोतले बताएको छ । कतिपयले यो घटनालाई सोभियत संघको बिघटन र कम्युनिस्ट पार्टीको पतनसँग पनि जोडेका छन् ।

ओली र नेपालबीच सहमति बनेमा राजनीतिक लेनदेनमा कुरा मिल्ने र सरकार संचालन र पार्टी संचालनमा महत्वपूर्ण निर्णय हुने माधव नेपालनिकट एक नेताले रिपोर्टर्स नेपाललाई बताए । अहिलेको राजनीतिक संकटलाई हल्का रुपमा लिन नहुने र विकल्पहरु सोच्दा विचार पुर्याउनेसम्मका विषयहरु उठेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्