Logo

कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्ने खतरा, ५३ हजार ५ सयको परिक्षण



वैशाख १५, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ५३ हजार ५ सय ३४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ वटा परीक्षण भएको छ । हालसम्म १० हजार ४ सय ७१ जनाको पिसीआर परीक्षण र ४३ हजार ६३ जनाको ट्यापिड टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४५४५, प्रदेश दुईमा ५२०८, बागमति प्रदेशमा ७६२६, गण्डकी प्रदेशमा ४९२४, प्रदेश पाँचमा ३४७१, सुदूरपश्चिम प्रदेशमा ११,९६१ र कर्णाली प्रदेशमा ५१२८ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

सबै प्रदेशमा गरी ४३ हजारभन्दा बढि ¥यापिड टेस्ट भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २० हजार १ सय ९५ व्यक्ति छन् । आइसोलेसनमा १ सय ६ जना सम्भावित संक्रमित रहेका छन् ।

नेपालमा आज नयाँ कोरोना संक्रमित भेटिएनन् । हिजो साँझ थपिएका एक जना संक्रमितसहित अहिलेसम्म कूल संक्रमितको संख्या ५२ छ । तिमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले वैशाख महिना लागेसँगै संक्रमितको संख्यामा वृद्धि भएकाले लक डाउनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको ठहर गरेको छ । त्यसैगरी कोरोना परीक्षणको दायरा पनि अझै बढाउनुपर्ने मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण रहेकाले तेस्रो चरणमा जान नदिन प्रयास भइरहेको प्रवक्ता देवकोटाले बताए ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार १ सय १९ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २७ हजार ५ सय ४२ रहेको छ । तिमध्ये ३ सय ४ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्