काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली सकेसम्म मिलेर जाने नभए कठोर कदम चाल्ने रणनीति बुनेर बसेको संकेत गरिसकेका छन् । ओलीले कुनैपनि बेला जोखिम मोल्ने गरी कदम चाल्ने भयले उनी इतरका नेताहरुलाई सताएको छ । अर्कोतर्फ उनलाई पदबाट हटाउने तयारी जोडतोडले बढिरहेको छ ।
नेकपाका कतिपय नेताहरुले अहिलेको अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खोजे दुर्घटनाको चेतावनी दिएका छन् । त्यो दुर्घटना पार्टी विभाजन देखि अहिलेको राजनीतकि प्रणालीमै चुनौती आउनसक्ने उनीहरुको ठम्याई छ । प्रचण्डनिकट मानिने नेकपा स्थायी समिति सदस्य दिनानाथ शर्माले यस्तै दुर्घटनाको खतरा औल्याइसकेका छन् ।
आक्रामक रणनीतिक साथ प्रस्तुत हुन खप्पिस ओलीले हालैमात्र लकडाउनको बखत दुईवटा अध्यादेश ल्याएर धेरैलाई चकित मात्र पारेनन् आफू कठोर निर्णय लिन पछि हट्दिनँ भन्ने सन्देश प्रवाह गरेका छन् । ओलीलाई हटाउन खोज्दै गर्दा नेकपा नेताहरुका उनले चाल्ने सम्भावित कठोर कदमको भयले सताएको छ ।
ओलीले प्रभावशाली चार नेताहरुसँग हिजो एक्ला एक्लै भेटेका थिए । आज पनि उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग एक्ला एक्लै भेटे । भेटमा राजनीतिक लेनदेनको विषय उठेको बुझिएको छ । पूर्व एमाले एकजुट हुनुपर्ने भन्दै कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा उनी निकट नेकपा स्थायी कमिटि सदस्यहरुको भीड नै जम्मा भएको छ । जसमा केही ओलीका विश्वापात्रहरु पनि पुगेका थिए । कोटेश्वर भेलामा ओली र नेपाललाई मिलाउने मिलनबिन्दु निर्माणमा नेताहरुले सघन छलफल गरेका थिए । मिलनबिन्दुमा पार्टी र सरकार दुई नेताले मिलेर हाँक्ने विषय केन्द्रित रहेको बुझिएको छ ।
साँझसम्म दुवै नेताबीच कुरा मिल्न सकेको छैन । माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा चलिरहेको छ । ओलीले भने नेकपाको कार्यकारी अध्यक्ष सम्मको प्रस्ताव गरेको स्रोतले बताएको छ । अब माधव नेपालसँग प्रधानमन्त्री बन्ने कि पार्टी सम्हाल्ने दुई मध्ये एक विकल्प देखिएको छ । तर, प्रधानमन्त्री बन्न खोज्दा ओलीले लिने कदम डरलाग्दो हुनसक्नेतर्फ समेत उनको ध्यान केन्द्रित भएको छ ।
नेकपाभित्र संकट गरिरिदै जाँदा पूर्व एमालेहरु आन्तरिक द्धन्द्धमा रुमल्लिइरहेका छन् । पूर्व माओवादीबीच भने बलियो एकता कायमै छ । यसलाई लिएर पूर्व एमालेहरु सतर्क भएका छन् । उनीहरु हरसम्भव उपाय लगाएर भएपनि ओली र नेपालको मिलनबिन्दु निर्माणमा जुटेका छन् ।
यसैगरी, नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल प्रचण्डसँग नजिकिएका छन् । दुई नेताबीच आज पनि भेटवार्ता भएको छ । उपाध्यक्ष वामदेव गौतम अहिले ओली हटाउने पक्षमा उभिएपनि उनी आफ्नै दाउमा छन् । यसरी नेकपाभित्र अन्यौल झनै बढ्दै गएको छ । ओली हटाउने प्रयासमा नेताहरु जोखिम उठाउन थालेका छन् । यसले राजनीतिक दुर्घटना या परिवर्तनको सम्भावना बढाइरहेको छ । ओली हट्न नमान्ने बरु चुनौतीको सामना गर्ने निर्णयमा पुगेका छन् । माधवलाई प्रधानमन्त्री पद मुखैमा आइसकेको गाँस जस्तो भएको छ । तर, यसलाई निल्नु न ओकल्नु हुने भय उत्तिकै छ ।-File Photo