Logo

ओलीसँग छुट्टै छलफल गरेका माधव नेपालसँग झलनाथ रिसाए



काठमाडौं, १५ बैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै सुरुदेखि नै रुष्ट रहेका बरिष्ठ नेता झलनाथ खनाल अध्यादेश प्रकरणपछि झनै आक्रामक बनेका छन् । उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि जस्तोसुकै कदम चाल्नपनि पछि नपर्ने आफूनिकटका नेताहरुसँग बताउने गरेका गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक ढिक्का भएर लागिपरेका छन् । पार्टीभित्रैबाट आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओली भने नयाँ रणनीति बनाउन लागिपरेका छन् । त्यसको लागि उनले नेता नेपालसँग सघन छलफल बढाएका छन् । नेता नेपालसँग प्रधानमन्त्री ओलीले एक्लाएक्लै र उनी निकटहरुले पनि छलफल गरिरहेका छन् । तर, नेपाल पक्षधले यो पटक ओलीसँग उद्यारो सहमति नगर्न दबाब दिएको छ । सोहीअनुसार दुवैपक्षबीच आज प्याकेजमा डिल गर्नेगरि छलफलसमेत भएको थियो । तर, उनीहरुबीच पावर सेयरिङमा कुरा मिलेन् ।

तर, ओली र नेपाल पक्षबीचको छलफलमा पार्टीको सचिवालय बैठक भोलि (मंगलबार) बोलाउनेबारे सहमति भने भएको छ । यता, ओलीविरुद्ध माधव नेपालकै मोर्चामा रहेका नेता खनाल भने पछिल्लो समय नेता नेपालले अस्वभाविक रुपमा प्रधानमन्त्री ओलीसँग सहमतिको प्रयासस्वरुप छलफललाई तिव्रता दिएकोमा भने रुष्ट बनेका छन् । उनले अब ओलीसँग एक्लाएक्लै भेट्नुको कुनै अर्थ नहुने भन्दै भोलि बस्ने सचिवालय बैठकबाट स्थायी कमिटी बैठक राख्नुपर्ने धारणा राखेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले स्थायी कमिटीले गर्ने निर्णय नै महत्वपूर्ण हुने भन्दै उक्त बैठकले प्रधानमन्त्रीबाट ओलीलाई हटाउने निर्णय गरेपनि सबैले मान्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्