सीद्धारा प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना
काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन सम्वाद गरेकी छिन् । उनीहरुबीच आज (सोमबार) साँझ टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार दुवै राष्ट्रपतिले पछिल्लो पटक सन् २०१९ को अक्टोबरमा सीले गरेको नेपाल भ्रमणको स्मरण गर्दै आफ्नो कुराकानी सुरु गरेका थिए । राष्ट्रपति भण्डारीले सीको नेपाल भ्रमणले नेपाल चीनबीच रहेको द्धिपक्षीय घनिष्ठ सम्बन्ध अझै प्रगाढ भएको बताएकी थिईन् । सीले जवाफमा आफ्नो भ्रमणको क्रममा नेपाली जनताले भव्य स्वागत गरेको कुरा स्मरण गर्नुको साथै भ्रमणको उपलब्धि पनि सम्झिएका थिए ।
त्यस्तै, कुराकानीमा राष्ट्रपति भण्डारीले चीनले कोरोना महामारी विरूद्धको लडाइँमा चालेको कदमको स्वागत गरेकी छिन् । उनले कोरोनाविरूद्ध चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद पनि दिइन्। राष्ट्रपति सी चिनफिङले नेपालले कोरोना विरूद्ध समयमै सजगता अपनाएकोमा खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर नियमित काममा फर्किएकोमा पनि सीले खुसी व्यक्त गरेका छन्। कोरोनाविरूद्ध नेपालको लडाइँमा आफूहरूले सहयोग गर्ने दृढता चिनियाँ राष्ट्रपतिले व्यक्त गरेका छन्। Photo Source: परराष्ट्र मन्त्रालय
यी हेर्नुहोस मन्त्रालयको विज्ञप्ती:
https://mofa.gov.np/press-release-on-rt-honble-presidents-telephone-conversation-with-the-president-of-the-peoples-republic-of-china/