Logo

अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी



काठमाडौँ, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ । हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसाबले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको देखिन्छ ।

केन्द्रका सूचना अधिकृत माधवप्रसाद दाहालले देशभरका ३५ प्रतिशत सामुदायिक विद्यालयमा प्रविधि जोडिए पनि १३ प्रतिशत विद्यालयमा मात्र यसको सञ्चालन हुन सकेको बताएका छन् । कतिपय विद्यालयमा कम्प्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन यस वर्ष ६० प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने सरकारी योजना थियो ।

रेडियोबाट अध्यापन सुरु
देशभरका विद्यालयमा इन्टनरेट सुविधा नपुग्दा सरकारले विद्यालय तहको पठनपाठनमा स्थानीय एफएम रेडियोलगायतका वैकल्पिक माध्यमलाई समेत अगाडि बढाएको छ । यसका लागि केन्द्रले उत्पादन गरेका विद्यालय तहका भर्चुअल सामग्री प्र्रदेश सरकारलाई उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा आफूहरूले ती सामग्री उपलब्ध गराएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।

अब प्रदेश सरकारले प्रदेशमा सञ्चालित टेलिभिजन तथा एफएमको प्रयोग गरी ती सामग्रीको प्रसारण गर्ने सूचना अधिकृत दाहालले जानकारी गराएका छन् । प्रदेश १ सरकारले वैशाख १५ बाट ती सामग्रीको प्रसारण सुरु गरेको छ । अन्य प्रदेशले पनि ती सामग्री प्रसारण गर्ने जनाएको छ । केन्द्रले कक्षा १० सम्मकै पाठ्यक्रममा आधारित भर्चुअल सामग्री उत्पादन गरिसकेको छ । प्रदेशका सरकारले हाललाई कक्षा ९ र १० का भर्चुअल सामग्रीको प्रसारणलाई प्राथमिकता दिने जनाएको छ ।

लगानी बढाउन आवश्यक
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तानले शिक्षालाई अगाडि बढाउन प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता आँैल्याएका छन् । त्यसो हुन सके मात्र कमजोर तथा गरिब वर्गका विद्यार्थीलाई प्रविधिसित जोड्न सकिने उनको भनाइ छ । सरकारले खर्च हुन नसकेको विकास बजेट प्राथमिकता अनुसार शिक्षामा लगानी गर्नुपर्ने उनले बताएका छन् ।
सक्षम बन्ने र बनाउने चुनौती
प्रविधिबाट पढाउने सक्ने हिसाबले शिक्षकको उत्पादन तथा क्षमता विस्तार गरिएको छैन । प्रविधिमैत्री शिक्षक समाजका महासचिव हरिहर दाहालका अनुसार कति शिक्षकले प्रविधिको माध्यमबाट कक्षा लिन सक्छन् भन्ने जानकारी छैन । समाजमा आबद्ध रहनुभएका झन्डै ४० जना शिक्षकले हाल प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेको जानकारी महासचिव दाहालले दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्