Logo

कसैकाविरुद्ध रणनीति र कार्यनीति बनाउने नभई कोरोनाविरुद्ध एकजुट भएर लड्ने बेला हो- सुनिल बहादुर थापा



काठमाडौं, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता सुनिल बहादुर थापाले देश संकटको घडीमा रहेकाले सबै पक्ष आग्रह पूर्वाग्रहभन्दा माथि उठी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले संकटमा मिलेर समस्यासँग जुध्ने नेपालीहरुको सुसंस्कार भएको उल्लेख गर्दै अहिले देशमा राजनीतिक विवाद घातक हुने बताएका छन् ।

‘अहिलेको बेला सबै मिलेर एकतावद्ध भएर महामारीसँग जुध्ने हो,’ पूर्वमन्त्री समेत रहेका सुनिलबहादुर थापाले भने, ‘यो समय विवाद गर्ने बेला होइन ।’ आफू सधै देशको संकटमा मिलेर सामना गर्नुपर्छ भन्ने पक्षको रहेको स्पष्ट पार्दै सकारात्मक र रचनात्मक सोच र भावनाका साथ बढ्नुपर्ने बेला आएको बताए । देशले अहिले सबैको साथ र सहयोग खोजेकोले अनावश्यक विवादमा अलमल गर्नुले संकट झन् बढ्ने बताए ।

थापाले आफू कसैकाविरुद्ध रणनीतिक रुपमा नलागेको स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध रणनीति र कार्यनीति आफ्नो घरमा बसेर तय भएको भन्ने प्रचारको खण्डन गरे । उनले भने, म त्यस्तो हल्लाको भत्र्सना गर्दछु । अहिले आफ्नो ध्यान कोरोना महामारीबाट जोगिन र जोगाउनमा केन्द्रित भएको स्पष्ट पारे । कोरोना रोकथामका लागि आफूले सकेको सहयोग गर्दै आएको बताए ।



प्रतिक्रिया दिनुहोस्