Logo

कोभिड–१९ सँग जुध्दै टोलटोलमा नेकपा



मेलम्ची, १६ वैशाख : महामारी कोरोना भाइरसले त्राहिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै जिल्ला कमिटीको बैठक गरेर नेता/कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिव दावा तामाङले सबै कमिटीलाई कामसहित परिचालित हुन निर्देशन गरिसकेका छन् । जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले कोरोनाविरुद्ध जुध्न सबै तहका पार्टी सङ्गठनलाई परिचालन गरेको बताए ।

जिल्लाभर क्रियाशील नेकपा सङ्गठनले जनचेतना जगाउने र फिल्डमै पुगेर सर्वसाधारणलाई सहयोग गर्ने काम गरिरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपाले स्वास्थ्य परीक्षण र औषधि वितरणलाई तीव्रता दिएको पार्टी अध्यक्ष राजु खाती सहदेवले जानकारी दिए । उनका अनुसार सहइन्चार्ज अनन्तप्रकाश श्रेष्ठसहितको टोलीले थर्मलगनको सहायताले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र सामान्य बिरामीलाई आवश्यक औषधि वितरण गरिरहेको छ । पार्टी कमिटीका नेताहरु गेहेन्द्र गुरुङ, सुरेश थामी, नीरबहादुर श्रेष्ठ, बलबहादुर थामी, हरेराम तिमल्सिना, शरण गुरुङ, गाङदेउ थामी, बाबुराम थामी र माधव पौडेललगायत दिनरात खटेर स्वास्थ्य परीक्षण काममा लागेका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिकामा नेकपाले काठमाडौँमा अड्किएर अलपत्र परेका करिब ५०० सर्वसाधारणलाई गाउँ ल्याइपु¥याएको छ । सुनकोशीका अध्यक्ष प्रेमलाल लामाका अनुसार गाउँपालिकाभर नेकपा कार्यकर्ता परिचालन भएका छन् । “गाउँपालिकामा रहेका विपन्न किसान, मजदुर, दलित र असहायलाई कसरी सहायता गर्ने भन्ने विषयमा कमिटीले अध्ययन गरिरहेको छ”, लामाले भने, “पार्टीको माथिल्लो कमिटी र सरकारसँग पर्याप्त छलफल गरेर कामलाई अझ प्रभावकारी बनाइने छ ।” भाइरसविरोधी लडाइँमा पार्टी कमिटीका अर्का नेता टपिन्द्रप्रसाद तिमल्सिनाले आर्थिक र भौतिक सहयोग गरेकोप्रति सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यता छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको गाउँपालिका भोटेकोशीमा नेकपाले प्रत्येक टोलमा कार्यकर्ता परिचालन गरेर जनजीवनको अवस्था सङ्कलन गरिरहेको छ । “हामीले कोरोना भाइरससँग लड्न सरकारले जारी गरेको लकडाउनलाई पूर्णपालना गर्ने विषय र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी पार लगाउने भन्नेबारे गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ”, नेकपा भोटेकोशीका अध्यक्ष आङछिरी शेर्पाले भने । तातोपानी नाका सञ्चालनबारे पनि कमिटीले समीक्षा गरेको उनले बताए ।

सीमाको अवस्थाबारे पार्टीको माथिल्लो कमिटी हुँदै सरकारलाई जानकारी गराइएको उनले दाबी गरे । नेकपाले दुई प्रतिनिधिसभा, चार प्रदेशसभा, १२ वटै स्थानीय तह र १०३ वटै वडामा सबै तहको बैठक गरेर कामलाई प्रभावकारी बनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फिल्डको अनुभूति सँगालेका पार्टी केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले पार्टी कमिटी जनताको समस्यासँग एकाकार भएर समाधानका लागि केन्द्रित भएको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्