काठमाडौं, १६ बैशाख । सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणको जाहेरी लिन मानेनन् । जाहेरी दिन सांसद यादवसहित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु सरकारी वकिल कार्यालय पुगेका थिए । मंगलबार बबरमहलस्थित सरकारी वकिल कार्यालयमा सांसद यादवलगायत जनता समाजवादीका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, केशव झालगायत जाहेरी लिएर पुगेका थिए ।
सरकारी वकिलको कार्यालयपनि जाहेरी लिन नमानेको अधिवक्ता डा. दिनेश त्रिपाठीले जानकारी दिए । यसअघि आइतबार सांसद यादवसहित जनता समाजवादीका शीर्ष नेता परिसरमा दुई घन्टा बसे पनि प्रहरीले जाहेरी लिन मानेको थिएन। सांसद यादवलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसन तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको दाबीसहित किटानी जाहेरी लिएर उनीहरू सरकारी वकिल कार्यालय पुगेका थिए ।
जाहेरी दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका युवा नेता विश्वदिप पाण्डेले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”उपेन्द्र यादवलगायत जसपाका नेताहरु सांसद सुरेन्द्र यादवको अपहरणको मुद्दा दर्ता गर्न जाँदा सरकारी वकिलको कार्यालय,काठमाडौंले पनि मुद्दा दर्ता गरेन।न्यायप्रणाली त प्रम ओलीले वागमतीमा बगाइसके,आफूलाई राजा घोषित गर्न मात्रै बाँकी छ।ओलीलाई जतिसक्दो चाँडो विदा नगरे त्योपनि धेरै टाढा छैन!”
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम