काठमाडौँ, १६ वैशाख । साउदी सरकारले रमजानको बेलामा कफ्र्यु खुकुलो बनाएको छ । रमजान बेलालाई मध्यनजर गर्दै साउदी सरकारले मक्का क्षेत्रबाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुनेगरी कफ्र्युको समयमा हेरफेर गरेको रिहादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार साउदी सरकारले वैशाख १३ वा अप्रिल २६ देखि वैशाख ३० गते वा मे १३ ताारिखसम्मका लागि बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कफ्र्यु हटाएको छ । यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दालगायतका ठाउँमा २४ घण्टे कफ्र्यु लगाइएको थियो । कफ्र्युको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कफ्र्युको समयलाई पूर्ण पालना गर्न साउदी सरकारले अनुरोध गरेको दूतावासले जनाएको छ ।
यस्तै साउदी अरेबियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीको गुनासो सुन्नका लागि छुट्टै टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । दूतावासका अनुसार फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासा पठाउन कठिन भएको भन्ने गुनासो धेरै आएको हुँदा दूतावासले समस्यामा परेका नेपाली श्रमिकले आफ्नो विवरण टेलिफोनबाट लिनेगरी दुईवटा टेलिफोन नम्बरको व्यवस्था गरेको छ । साउदीको दूतावासमा रहेका फोन नम्बर ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्या टिपाउन सकिने छ । बिहान ९:०० देखि १२ः०० बजेसम्म र दिउँसो १ः०० देखि ४ः०० बजेसम्म फोनमा गुनासो टिपाउन सकिने दूतावासले जनाएको छ । (गोरखापत्रबाट)