काठमाडौँ, १७ वैशाख । धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाएका छन् । यो फल्दा विगतका झैँ यस वर्ष पनि एक सिजनमा दुई लाख ५० हजारसम्म बचत हुने उनले अनुमान थियो ।
पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेँडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य पाएँ तर त्यसपछिका दिन भने उनका लागि अभिशाप नै बने । सरकारले चैत्त ११ देखि लकडाउन घोषणा ग¥यो । समग्र देश नै ठप्प भयो । स्थानीय जनप्रतिनिधिको सहयोगमा दोस्रो र तेस्रो लटमा टिपिएको गोलभेँडा जसोतसो सिन्धुली बजारसम्म पु¥याइयो तर मूल्य भने त्यसअघि उनले पाउनुभएको ३५ रुपियाँभन्दा निकै तल झरिसकेको थियो । धरमेश्वर भन्नुहुन्छ, “२० रुपियाँ प्रतिकेजीको दरमा व्यापारीलाई बिक्री गरी सिन्धुली पु¥याएँ । ”
उत्पादन बढ्दा मूल्य कम हुने व्यवसायको स्वाभाविक सिद्धान्त नै हो तर सिजनको सुरुवात र अन्त्यमा भने किसानसँगै व्यापारीले पनि सामान्यभन्दा बढी मूल्य पाउँछन् । मिथिला नगरपालिका–८ का वडाअध्यक्ष देवनारायण महतोले लकडाउनको सुरुवातमा व्यापारीले घरमै आएर तरकारी खरिद गर्ने वातावरण मिलाएको बताउनुहुन्छ तर पछिका दिनमा भने तरकारी बेचेर रित्तो फर्किने व्यापारी प्रहरीको निशानामा परेपछि तरकारीको बजार प्रवद्र्धनमा समस्या आयो । जमुनीबासकै प्रदीप महतो भन्नुहुन्छ, “गोलभेँडा खेतमै कुहिन लाग्दा पाँच रुपियाँ प्रतिकिलोमै लग्न व्यापारीलाई खबर ग¥यौँ । ” उनले एक कट्ठा क्षेत्रफलमा गोलभेँडा खेती गरेका छन् । प्रदीपकै भनाइलाई दोहो¥याउँदै धरमेश्वर भन्नुहुन्छ, “त्यत्ति थोरै मूल्यमा पनि नलग्ने भएपछि लटरम्म फलेको गोलभेँडाको बिरुवा उखेलेर खेतमै विसर्जन गरिरहेका छौँ । ”
खेतमै करिब पाँच क्विन्टलभन्दा बढी गोलभेँडा थुपारिएका छन् । प्रदीपले भने खेतबाट टिपिएका गोलभेँडा घर अगाडि छिमेकीका भैँसीलाई खुवाउन बाध्य भएका छन् । मिथिला नगरपालिकाको जमुनीबासकै तेजिलाल महतो, रामभरोस महतो र सञ्जिव महतोले लगाएको तरकारी बाली खेतमै कुहिन लागेको छ । जमुनीबासमा करिब चार बिघा क्षेत्रफलमा किसानले छुट्टाछुट्टै गोलभेँडाको खेती गरेका छन् ।
धरमेश्वरले भने, “बाली अहिलेको अवस्थासम्म हुर्काउन करिब ५० हजार रुपियाँ खर्चेका छौँ, उत्पादन भए पनि बजार पाएनौँ । ” अबको तीन महिनापछि समय अनुकूल हुने उहाँले विश्वास लिनुभएको छ । लटरम्म फलेको गोलभेँडा उखेलेर अर्को बाली लगाउन तयारी गर्दै छौँ, उनले थपे ।
धनुषाकै नगराइन नगरपालिकाको जटहीमा राजकुमार साहले दस कट्ठा क्षेत्रफलमा खुर्सानीको बिरुवा लगाएका छन् । प्रतिकेजी २० रुपियाँको दरले पनि बिक्री हुन नसकेपछि हरियो खुर्सानी खेतमै सुक्दै छन् । पाँच कट्ठा क्षेत्रफलमा राजकुमारले भान्टा लगाएका छन् । यो अहिले फलेको छ तर व्यापारी खेतसम्म आउनसकेका छैनन् । न त राजकुमारले व्यापारी कहाँ कृषि उपज पठाउनसक्नु भएको छ । पाँच रुपियाँ प्रतिकेजीमा खरिद गर्ने पनि व्यापारी छैनन्, उनले आफ्नो नैराश्यता सुनाए । धनुषाकै कमला नदी छेउको बगरमा सयौँ हेक्टर क्षेत्रफलमा खरबुजा खेती गरिएको छ । गर्मी बढ्दै जाँदा खरबुजाको व्यापारसमेत वृद्धि हुँदै आएको छ तर लकडाउनले गर्दा यसले बजार पाएको छैन । (गोरखापत्रबाट)