काठमाडौं, १७ वैशाख । रातारात समाजवादी पार्टी फुटबाट रोक्न उधारो सम्झौता गरेर जनता समाजवादी पार्टी बनेको छ । पार्टीले कएकीकरणको हस्ताक्षर गरेर ११ वैशाखको विहान निर्वाचन आयोगमा दल दर्ताको निवेदन त दिएको छ तर आधिकारिक प्रमाणपत्र पाएको छैन ।
दल दर्ताका लागि आवश्यक कतिपय डकुमेन्ट जनता समाजवादी पार्टीले नबुझाइसकेको अवस्था छ । पार्टी अध्यक्ष को बन्ने टुंगो छैन । महन्थ ठाकुर वरियतामा एक नम्बरमा छन् भने डा. बाबुराम भट्टराई दुई नम्बरमा । कुनैबेला १६ सिटको दलको अध्यक्ष बनेका उपेन्द्र यादव १७ सिट हुँदा अध्यक्ष बनेपनि वरियतामा दोस्रो थिए । अहिले ३४ सिट हुँदा उनी तेस्रो वरियतामा पुगेका छन् ।
पार्टी एकीकरण त भयो तर असन्तुष्टि साम्य भएको छैन । पार्टी फोड्न तयार भएकी रेणु यादव भूमिगत छिन् । उनको कुनै बोली फुटेको छैन । प्रदीप यादव असन्तुष्टि पक्ष अझै सशक्त रहेको बताइरहेका छन् । पार्टी फुटाउन सक्रिय रेणु यादवको समूहका छ जनानै एकीकरणबाट सन्तुष्ट छैनन् ।
राजपामा हुँदा अध्यक्षमण्डलका नेता थिए अनिल झा र राजकिशोर यादव । उनीहरुले एकीकरणको सम्झौतामा हस्ताक्षर गरेनन् । यसले तत्काल समाजवादी फुट्नबाट राजपाले जोगाएपनि एकता लामो समय टिक्ने छाँटकाँट देखिदैन ।
एकीकरणपछि पनि डा. बाबुराम भट्टराई मात्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । उनले भष्मासुर भन्दै अन्त गर्नुपर्ने अभिव्यक्ति समेत दिए । महन्थ ठाकुर मौन छन् । राजेन्द्र महतो प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा छन् । उनले ओलीको राजीनामा नमागेको अभिव्यक्ति दिइसकेका छन् । उपेन्द्र यादव भने ओलीविरुद्ध कडा रुपमा देखिएका छन् । उनले पनि ओली सरकारको बर्हिगमनको पक्षमा अभिव्यक्ति दिएका छन् ।
अहिले जनता समाजवादी पार्टीभित्र वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा नरम र गरम बाक्यहरु फुटिरहेका छन् । केही ओलीकै पक्षमा छन् । यसले जसपाभित्र ओली सरकारलाई हेर्ने दृष्टिकोणमै मतभेद देखिइसकेको छ ।
एकीकरणको हस्ताक्षर भइसकेपनि त्यसले वैधानिकता नपाइसकेको अवस्था छ । एकीकरण गर्दा बहुराष्ट्रिय राज्य शब्द अर्को गम्भीर विषय बनेको छ । दल दर्ताका क्रममा यही शब्दले बखेडा निस्कनसक्छ । एकीकरणले वैधानिकता नपाइसकेको अवस्थामा दल दर्ता नहुँदै फुटको खतरा नकार्न सकिदैन । असन्तुष्टिको आगो भित्र भित्र दन्किरहेको छ । यसले जसपालाई अर्को संकटमा धकेल्ने अवस्था तयार भइरहेको छ ।