वैशाख १७, काठमाण्डौ । सुरुवाती दिनमा एक वा दुई जना कोरोना संक्रमित भेटिदा निकै चर्चा हुन्थ्यो । त्रास हुन्थ्यो । तर पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित भेटिनु सामान्य जस्तै भइसक्यो । सर्वसाधारणले पनि संक्रमित भेटिदा समान्य रुपमा लिन थालिसकेका छन् ।
तर दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा नेपाल थप जोखिममा पर्दै गएको छ । सरकारले परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार मात्रै बारामा २ र पर्सामा एकजना संक्रमित भेटिएका थिए । तर फेरि पर्सामा अर्का एक संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्साका एकजनामा कोरोना पुष्टि भएको हो। यसअघि बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको थियो ।
अघिल्ला तीन र पछिल्ला एक पुरुष सबैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका हुन् ।
अहिलेसम्म पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् भने ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् ।
पछिल्ला दिनमा नेपालको राजनीति तरङ्गित भएकाले कोरोनाको चर्चा कम भएको छ । तर संक्रमित थपिने क्रम भने रोकिएको छैन ।